यही मत गणनाले कहिले खान्छन् जनप्रतिनिधिले शपथ ? • Nepal's Trusted Digital Newspaperयही मत गणनाले कहिले खान्छन् जनप्रतिनिधिले शपथ ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यही मत गणनाले कहिले खान्छन् जनप्रतिनिधिले शपथ ?

यही मत गणनाले कहिले खान्छन् जनप्रतिनिधिले शपथ ?

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
यही मत गणनाले कहिले खान्छन् जनप्रतिनिधिले शपथ ?

विसं २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल बिहीवार जेठ ५ गते सकिँदैछ । मतगणनाको गति हेर्दा सबै चुनावी नतिजा बिहीवारसम्म आइसक्ने र शुक्रवार सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था देखिँदैन । शपथ नलिएसम्म नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउँदैनन् । चुनावको मिति तोकिनुअघि निर्वाचन आयोगले जेठ ६ गते नयाँ जनप्रतिनिधिले जिम्मेवारी सम्हाल्न नपाए के गर्ने भन्नेबारे संविधानले समेत परिकल्पना नगरेको बताउने गरेको थियो ।
विज्ञ के भन्छन् ?
नवनिर्वाचित जनप्रतिनिधिहरूले निर्धारित समयभित्र शपथ लिन नसके त्यसले विभिन्न समस्या निम्त्याउन सक्ने विज्ञहरूले औँल्याएका छन् । “नयाँ जनप्रतिनिधिले शपथ नलिएसम्म कार्यभार सम्हाल्न सक्दैनन्। त्यसले गर्दा कर्मचारीले गर्नसक्ने काम मात्र हुनसक्ने भयो, बाँकी काम अवरुद्ध हुने भयो,” स्थानीय सरकारसम्बन्धी जानकार बालानन्द पौडेलले भने । नयाँ जनप्रतिनिधिहरूले शपथ ग्रहण नगरेसम्म शून्यताको स्थिति रहने काठमाडौँ विश्वविद्यालयस्थित कानुनका प्राध्यापक विपिन अधिकारी बताउँछन् ।

“अनि शून्यताको अवधि जति लम्बिन्छ, उति नै जटिलता थपिँदै जान्छ,” उनले भने ।

“स्थानीय चुनाव सम्पन्न भइसकेपछि त्यसको निरन्तरतालाई रोक्ने कुनै किसिमको प्रावधान संविधानमा नभएको प्राध्यापक अधिकारी बताउँछन् ।
“त्यो भनेको बगिरहने खोला जस्तै हो । सलल बग्छ, एउटा जान्छ, अर्को आउँछ। उसका कामकारबाहीमा कुनै बाधाअवरोध हुँदैन भन्ने हो,” उनले थपे ।

जनप्रतिनिधिले शपथ लिई कार्यभार नसम्हाल्दासम्म कतिपय प्रशासनिक काम कर्मचारीले गर्न सक्ने भए पनि राजनीतिक स्तरमा गर्नुपर्ने काम ठप्प हुने विज्ञहरू बताउँछन् । “जेठ ६ गतेपछि कस्तो अवस्था हुने भयो भने अघिल्लाले पनि छुन पाउँदैनन् र नयाँ आएकाले पनि केही छुन पाएनन्,“ प्राध्यापक अधिकारीले भने । भविष्यमा यस्तो अवस्था दोहोरिन नदिन आउने प्रादेशिक तथा सङ्घीय निर्वाचनमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

आयोग के भन्छ ?
नियमित प्रशासनिक कामहरू कर्मचारीले गर्नसक्ने भए पनि कतिपय कामका लागि निर्वाचित तहलाई नै कुर्नुपर्ने कुरा आयोगका अधिकारीहरू पनि स्वीकार्छन् । “बजेटका काम, एजेन्डाहरू प्रस्तुत गर्ने जस्ता कतिपय काम छन् जसका लागि ’इलेक्टेड बडी’लाई नै कुर्नुपर्ने हुन्छ,” आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने । यद्यपि बिहीवारसम्म ९० प्रतिशत मतगणना सकिसक्ने आफूहरूको अनुमान रहेको उनले बताए ।

आयोगका अनुसार बुधवार अपराह्नसम्म करिब ६० प्रतिशत मतगणना सकेको छ । “अहिलेकै गतिमा मतगणना कार्य जारी रहेको भने बिहीवारसम्म ९० प्रतिशत गणना सकिन्छ भन्ने हाम्रो अनुमान हो। त्यो भएपछि उहाँहरूलाई कानुनअनुसार शपथमा समस्या नहोला,“ अर्यालले भने । आफ्नो पालिकाको निर्वाचन परिणाम आएको सात दिनभित्र अध्यक्ष तथा प्रमुखले कार्यभार सम्हाल्नुअघि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ । उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष र सभाका सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र सम्बन्धित अध्यक्ष वा प्रमुखसमक्ष शपथ लिनुपर्ने हुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका