उठेन महानगरको फोहोर अझै • Nepal's Trusted Digital Newspaperउठेन महानगरको फोहोर अझै • Nepal's Trusted Digital Newspaper

उठेन महानगरको फोहोर अझै

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
उठेन महानगरको फोहोर अझै

काठमाडौँ उपत्यकामा फोहोर नउठेपछि कैयौँ सडकमा फोहोरको थुप्रो लागेका कारण स्थानीय बासिन्दा तथा बटुवाले गुनासो गरेका छन् । फोहोर व्यवस्थापनमा पटकपटक यस्तो समस्या दोहोरिने हुँदा शहरको सुन्दरता बिग्रिनुका साथै स्वास्थ्यमा समेत समस्या आउने गरेको उनीहरूले बताए । काठमाडौँ महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले मानवीय र प्राकृतिक अवरोध नभएमा एक हप्ताभित्रै उपत्यका र टेकुस्थित ट्रान्सफर स्टेशनमा थुपारिएको फोहोर व्यवस्थापन गरिने बताइन् । उपत्यकामा दैनिक १,२०० मेट्रिक टन फोहोर उत्पादन हुने विज्ञको अनुमान छ ।

उपत्यकाका घर÷घरबाट निस्कने जैविक र अजैविक फोहर, संकलनकर्तालाई छुट्ट्याएर नदिँदा व्यवस्थापनमा समस्या भइरहेको अधिकारीहरुले बताएका छन् । त्यसले उपत्यकाबाट दैनिक निस्कने करिब ५ सय टन फोहरको व्यवस्थापन चुनौतीपूर्ण बन्न पुगेको उनीहरुको गुनासो छ । तर विज्ञहरु दशकौं भैसक्दा पनि सरकारले फोहर व्यवस्थापन गर्ने ठोस योजना बनाउन नसकेकाले यो समस्या ज्युँकात्युँ रहेको बताउँछन् ।

कैयौँ सातादेखि राजधानी सहरका सडक र गल्लीमा असरल्ल छाडिएका फोहोरका डङ्गुरले यत्रतत्र दुर्गन्धमात्रै फैलाएका नभई तिनका कारण अन्य सरुवा रोग फैलने जोखिम समेत बढ्दो छ ।

सरुवा रोग फैलने मौसम वर्षायामको उत्तरार्धमा फोहोरका डङ्गुर जम्मा हुँदा जनस्वास्थ्यमा गम्भीर जोखिम बढेको विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यस्तो समयमा कस्ता रोग फैलन सक्छन् अनि तिनबाट कसरी जोगिने भन्ने विषय अहिले मुख्य चासोको विषय रहेको छ ।

कस्ता रोगको जोखिम
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवा रोगका जानकार डा. बाबुराम मरासिनीले नेपालमा विभिन्न मौसममा फैलने रोगहरूबारे अध्ययन गरेका छन् । यस्तो बेला फोहोर व्यवस्थापन नहुँदा त्यसले आगोमा घ्यूको काम गर्ने उनी ठान्छन् ।

“धेरै वर्षको रेकर्ड हेर्दाखेरि अगस्ट महिनाको अन्तिम हप्तादेखि नेपालमा हैजा फैलने गरेको देखिन्छ । साथै हेपाटाइटीस ए र ईजस्ता सरुवा प्रकारका जन्डिस, आउँ रगत, टाइफोइड समेत फैलने समय यही भएकाले फोहोरले यिनको फैलावटमा धेरै असर गर्न सक्छ,” उनले भने । ठाउँठाउँमा फालिएको फोहोरलाई काग तथा अन्य चराले बोकेर मानिसहरूको घरका छतमाथि लैजाने र त्यसबाट मानिसमा रोग सर्ने जोखिम बढ्ने उनले बताए ।

“कुकुरहरूले पनि फोहोर फैलाइदिन्छन् । अझ गम्भीर कुरा त मुसाको छ । मुसाले मात्र ३९ प्रकारका विभिन्न रोग फैलाइदिन सक्छन्। फोहोर बढेपछि मुसाको सङ्ख्या पनि बढ्छ,” डा. मरासिनीले बताए ।

रुघाखोकी र डेङ्गीको त्रास

गर्मी यामबाट जाडो याममा प्रवेश गर्ने समयमा हुने गरेका तापक्रम घटबढले मौसमी रुघाखोकी ह्वात्तै बढाइदिने गरेको नेपालको अनुभव छ ।

“जब अधिकतम तापक्रम र न्यूनतम तापक्रमबीचको फरक १० डिग्रीभन्दा बेसी हुन्छ त्यसपछि यहाँ रुघाखोकी एकदम फैलने गर्छ। अहिलेको समय पनि गर्मी सिद्धिएर जाडो लाग्ने बेलाको समय हो र मानिसहरू यसबारे सचेत रहनुपर्छ,” डा. मरासिनी बताउँछन् । कोरोनाभाइरसका कतिपय लक्षण रुघाखोकी तथा अन्य फ्लूसँग पनि मिल्दोजुल्दो हुने हुँदा रुघाखोकी लाग्दा पनि अचेल मानिसहरूलाई तनाव र चिन्ता हुने गर्छ ।

विज्ञहरूका अनुसार सकेसम्म यी रोगबाट जोगिए ती तनावबाट पनि बच्न सकिन्छ नेपालमा मनसुन पूर्वका केही महिना अनि मनसुन सकिने बेला मानिसहरूलाई लामखुट्टेले सार्ने रोगहरूले पनि आक्रान्त पार्छ ।

“औलो, डेङ्गीजस्ता रोग यस्तै बेला धेरै फैलन्छन् । डेंगीको हकमा साउनदेखि नै फैलन थालेको पाइन्छ। यो वर्ष साउनमा त्यति धेरै डेङ्गीका मामिला त आएका छैनन् तर हामी सजग रहनुपर्छ,” उनले भने । उनका अनुसार डेङ्गीको महामारी सामान्यतया ३–५ वर्षको अन्तरालमा चक्रीय प्रकारले देखा पर्ने गरेको छ ।

“पछिल्लोपटक २०१९ मा नेपालमा डेङ्गीको प्रकोप देखियो । त्यसैले अर्को वर्ष हामी थप सतर्क हुनुपर्ने जस्तो देखिन्छ ।”

जोगिने तीन तरिका
डा. मरासिनीका अनुसार तीन कुरामा ध्यान पु¥याउन सके धेरैजसो सरुवा रोगबाट बच्न सकिन्छ । सफा हात, सफा पानी अनि सफा खानेकुरा ।

“धेरै सरुवा रोग फोहोरबाटै सर्छ । हामीले हात सफा राख्यौँ अनि सफा उमालेको पानी एवं सफा ताजा खानेकुरा मात्र खायौँ भने धेरै रोगबाट स्वतः बच्न सकिन्छ,” उनले भने । लामखुट्टेजन्य औलो तथा डेङ्गी रोगबाट बच्नका लागि झुलको प्रयोग वा लामखुट्टे भगाउने सुरक्षित रसायनको प्रयोग गर्न विज्ञहरूले सुझाव दिने गर्छन् ।

घर तथा बस्तीवरपर पानी जम्न नदिएर पनि यस्ता रोगबाट बच्न सकिने बताइन्छ । साथै श्वासप्रश्वासका माध्यमबाट सर्ने कोरोनाभाइरसबाट जोगिनका निम्ति अपनाइँदै आएको मास्कको प्रयोग तथा भौतिक दूरीको पालना गर्ने हो भने अन्य रुघाखोकी तथा फ्लूबाट पनि जोगिन सकिने चिकित्सकहरूले बताइरहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका