पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लग्नुभएकाे छ । शनिबार बिहानसम्म उहाँले मतान्तर ३ हजार भन्दा बढी पुर्याउनुभएकाे छ ।
पोखराको ८० हजार १ सय ५४ मत गणना भइसक्दा उहाँ ३ हजार ४ सय ३९ मतले अगाडि हुनुहुन्छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका समाजवादीका आचार्यले ३२ हजार ४ सय ८० मत पाउँदा उहाँलाई पछ्याइरहनुभएका अर्का प्रत्यासी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत ल्याउनुभएकाे छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शंकर खरालले ३ हजार ५ सय २० मत पाउनुभएकाे छ । अटेरी नामक अभियानबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका खडकराज पौडेल (गनेस) ले २ हजार २ सय ४९ मत पाउनुभएकाे छ ।
पोखराको उपमेयरका लागि फेरि नेकपा एमालेले अग्रता लिएको छ । मेयर पदमा मतान्तर फराकिलो हुँदै जाँदा उपमेयरमा भने रोचक प्रतिस्पर्धा चलिरहेको छ ।
नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ र नेपाली कांग्रेसकी कोपिला रानाभाटबीच थोरै मतान्तरले सुरुआतदेखि नै एकले अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । अहिले एमालेकी मञ्जुदेवी गुरुङले २ सय ६२ मतले अगाडि हुनुहुन्छ ।
मञ्जुले ३३ हजार २ सय २१ मत पाउँदा उहाँलाई पछ्याइरहनुभएकी कोपिलाले ३२ हजार ९ सय ५९ मत पाउनुभएकाे छ । राप्रपाकी रञ्जना सेनले ३ हजार ४ सय ११ मत पाउनुभएकाे छ ।