टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट अन्तरगत तेस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित • Nepal's Trusted Digital Newspaperटीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट अन्तरगत तेस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट अन्तरगत तेस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित

टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट अन्तरगत तेस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट अन्तरगत तेस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित

काठमाडौं । पाहुना टोली युगान्डाले नेपालविरुद्धको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा घरेलु टोली नेपाललाई ६ विकेटले पराजित गर्दै युगान्डाले दुई खेल अगावै शृंखला जितेको हो। बिहीबार प्रभावशाली जित निकालेसँगै युगान्डाले पाँच खेलको शृंखलामा ३–० को अग्रता बनाएको छ।

नेपालले दिएको एक सय रनको सामान्य लक्ष्य युगान्डाले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। युगान्डाको जितमा केभिन अविनोले अविजित ४२ रन जोडनुभयाे। उहाँले ५१ बलमा चार चौका प्रहार गर्नुभयाे। यसैगरी जेनेट बाबाजीले २७, रीता मासामलीले नौ र लियोना बार्बिईले पाँच रन बनाउनुभयाे। नेपालकी कविता कुँवरले दुई विकेट लिनुभयाे। यसैगरी कप्तान रुबिना क्षत्री र इन्दु बर्माले एक÷एक विकेट हात पार्नुभयाे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रनको मध्यम योगफल खडा गरेको थियो। नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोड्नुभयाे। उहाँले ५४ बलमा पाँच चौका हिर्काउनुभयाे। यस्तै कप्तान रुबिना क्षत्रीले अविजित १८ र सीता रानामगरले १२ रन बनाउनुभयाे। यस्तै बिन्दु रावलले चार, रोमा थापा र डोली भट्टले समान तीन÷तीन र इन्दु बर्माले एक रन जोड्नुभयाे।

युगान्डाकी फियोना कालुमी, कोन्सी अवेको र सराह अकिटेङले दुई÷दुई विकेट लिनुभयाे। जेनेट बाबाजी र रीता मुसामालीले एक÷एक विकेट हात पार्नुभयाे। यसअघि गत सोमबार भएको पहिलो खेलमा नेपालले १२ रन र दोस्रो खेलमा एक विकेटले पराजय बेहोरेको थियो। नेपाल र अफ्रिकी मुलुक युगान्डाबीचको चौथो खेल शुक्रबार र पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको १५ वर्षपछि महिला टोलीले घरेलु मैदानमा टीट्वेन्टी शृंखला खेलेको हो। नेपालले सन् २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको थियो । सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेट खेलेको नेपालले युगान्डासँग दोस्रो शृंखला खेलेको हो।

एसिया कप छनोटको तयारीमा रहेका खेलाडीलाई एक्स्पोजर दिन नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डाका खेलाडीलाई आमन्त्रण गरेको हो। नेपालको घरेलु मैदानमा हुने उक्त खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएकाले दुवै राष्ट्रको विश्व वरीयतामा पनि प्रभाव पर्नेछ। विश्व वरीयतामा पछिल्लो समय नेपाल १६औं र युगान्डा १९औं स्थानमा छन्।

source:- annapurnapost

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका