नेपालको उर्जा उत्पादन अब नेपाल जस्तो स्वतन्त्र राष्ट्रले गर्न नसक्ने भयो त ? : भीम रावल • Nepal's Trusted Digital Newspaperनेपालको उर्जा उत्पादन अब नेपाल जस्तो स्वतन्त्र राष्ट्रले गर्न नसक्ने भयो त ? : भीम रावल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालको उर्जा उत्पादन अब नेपाल जस्तो स्वतन्त्र राष्ट्रले गर्न नसक्ने भयो त ? : भीम रावल

नेपालको उर्जा उत्पादन अब नेपाल जस्तो स्वतन्त्र राष्ट्रले गर्न नसक्ने भयो त ? : भीम रावल

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ ५, २०७९
नेपालको उर्जा उत्पादन अब नेपाल जस्तो स्वतन्त्र राष्ट्रले गर्न नसक्ने भयो त ? : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न सरकार लागिपरेको आरोप लगाउनुभएकाे छ । बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै रावलले यस्तो आरोप लगाउनुभएकाे हाे ।

भारतबाट ३२ रुपैयाँमा वार्षिक ८०० मेगावटसम्म बिजुली किन्ने र देशमा धेरै बिजुली भएको भन्दै राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला बेच्ने काम तत्काल रोक्न बजेटमै उल्लेख गर्नुपर्ने रावलले बताउनुभयाे ।

उहाँले नदी र जलस्रोतको समुचित प्रयोग र दीर्घकालीन नीतिमा बजेटको प्राथमिकता नभएको बताउनुभएकाे छ । भारतीय कम्पनी जीएमआरसँग २०७३ सालमा भएको सम्झौताबाट माथिल्लो कर्णाली भारतले ओगटेको विषयमा पनि उहाँले आपत्ति जनाउनुभयाे ।

‘आयोजना ओगटेको ६ वर्ष हुँदा पनि सरकार मौन छ । हालसम्म नेपाललाई चार अर्ब रुपैयाँ हर्जना तिर्नुपर्नेछ,’ रावलले भन्नुभयाे, ‘त्यो जरिवानाबाट भारतीय कम्पनी जोगाउन प्रधानमन्त्री आफैं लाग्नुभएकाे छ ।’

रावलले अगाडि भन्नुभयाे, ‘चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने भनेर प्रधानमन्त्रीले पश्चिम सेती भारतलाई दिने विषय कुतर्क हो । नेपालको उर्जा उत्पादन अब नेपाल जस्तो स्वतन्त्र राष्ट्रले गर्न नसक्ने भयो त ?’

सरकारले अरुण चौथो आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको, तर कुनै सरकारी निर्णय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबिनै प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले भारतलाई सेयर बेच्ने निर्णय गरेको भन्दै रावलले आपत्ति जनाउनुभयाे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा यस विषयमा भएको सम्झौता गलत भएको समेत उहाँको तर्क छ । सरकारले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक औपचारिक मात्रै भएको भन्दै उहाँले सिद्धान्त र छलफल देश र जनताको राष्ट्रिय अन्तर्राष्ट्रिय हितमा नभएको बताउनुभयाे ।

अर्थतन्त्रमा देखा परेको समस्या, पुँजीगत खर्च बढाउने, आयातमुखी अर्थतन्त्र चिर्ने, उत्पादनमुखी अर्थतन्त्र बनाउने विषयमा बजेटको सिद्धान्तमा नपरेको रावलले बताउनुभयाे । विदेशी मुद्राको सञ्चिती डरलाग्दो अवस्थामा पुगेको बेला सरकारको नीतिमा यस्ता समस्या चिर्नुको साटो आयात रोक्ने नाटक मात्रै गरिएको उहाँको आरोप छ ।

सरकारले सुपारीको आयात अनुमति दिइएको विषयको पनि रावलले विरोध गर्नुभयाे । विदेशी ऋणको भार बढ्दा यसको न्यूनीकरण गर्ने विषयमा बजेटको सिद्धान्त र प्राथमिकता नदेखिएको भन्दै रावलले नेपाली बैंकको पुँजी परिचालनमा केही मानिसको हातमा पुगेकाले त्यसलाई रोक्नुपर्ने बताउनुभयाे ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका