काठमाडौं । निर्वाचन आयोगले चुनावमा लापरबाही गर्ने कर्मचारीको विवरण माग गरेको छ। मतदान कार्यमा खटिएका मतदान अधिकृतबाट भएका गम्भीर गल्तीले विवाद भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणनासमेत प्रभावित भइरहेको आयोगले बुधबार प्रेस विज्ञप्तिमा जनाएको छ।
‘यस प्रकारका गम्भीर त्रुटि गल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको नाम, थर, पद, कार्यरत कार्यालयको नाम र ठेगाना, कर्मचारी संकेत नम्बर, खटिएको केन्द्रको नाम र ठेगाना सबै विवरण खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ’, विज्ञप्तिमा लेखिएको छ।
मतदान अधिकृत तथा अन्य कर्मचारीले स्थानीय तह निर्वाचन निर्देशिका २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुने कार्य गरेको जनाइएको छ। मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने लगायत गल्ती गरेको देखिएकाे जनाइएको छ।
https://election.gov.np/admin/public//storage/New/Press_Release_2079_02_04(1).pdf