राजविराज । सप्तरी जिल्लामा गीता चौधरी पहिलोपटक महिला नगर प्रमुख बन्नुभएकाे छ। सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार ७५ मत अन्तरले निर्वाचित हुँदै नगर प्रमुख बन्नुभएकाे हाे। फराकिलो मत अन्तरले निर्वाचित चौधरीले ७ हजार २ सय ९२ मत ल्याउनुभएकाे छ।
सप्तरीमा अहिलेसम्म निर्वाचित प्रमुखलाई प्राप्त यो मत पनि सबैभन्दा बढी हो। यसअघि २०७४ मा नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवार बन्नुभएकी गीताले त्यसबेला २ हजार ७ सय ७४ मत ल्याएर तेस्रो हुनुभएकाे थियाे।
योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै ४ वटा स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जीत हासिल गरेको छ। सुरुङ्गा नगरपालिकामा रामनारायण चौधरीले ४ हजार २ सय १७ मत ल्याएर फेरि पनि निकटतम प्रतिद्वन्द्वीमा चित्त बुझाउनुभएकाे छ।
यसअघि २०७४ मा नेकपा (एमाले) बाट उम्मेदवार बन्दा ५ हजार ६९ मत ल्याउनुभएका रामनारायण चौधरीले यसपटक नेकपा (एकिकृत समाजवादी)बाट उम्मेदवार हुँदा ४ हजार २सय १७ मत मात्र ल्याउनुभयाे। उपाध्यक्षमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की ६ हजार २ सय ७५ मत ल्याएर निर्वाचित हुनुभएकाे छ।
उहाँ पनि सप्तरीबाट निर्वाचित हुने पहिलो पुरुष उपप्रमुख हुनुहुन्छ। यसअघि र हालसम्म निर्वाचित हुने उपप्रमुख र उपाध्यक्ष सप्तरीमा महिला मात्र छन्। उहाँको निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिता कुमारी मुखियाले ३ हजार ९सय ९८ मत ल्याउनुभएकाे छ।
यसअघि नेकपा (एमाले) की उपप्रमुख उम्मेदवार सबिना डोटेल ३२ मत अन्तरले मात्र पराजित हुनुभएकाे थियाे। वडा अध्यक्षमा एकीकृत समाजवादीले ४, जसपाले ३, कांग्रेसले र माओवादी केन्द्रले २-२ वडा अध्यक्षमा जीत हासिल गर्नुभएकाे छ।
एकीकृत समाजवादीबाट वडा १ मा ६ सय १ मत ल्याएर छत्रबहादुर राउत, वडा ३ मा ६ सय ३४ मत ल्याएर किरणकुमार पोखरेल, वडा ४ मा ८ सय ६४ मत ल्याएर देबेन्द्रप्रसाद चौधरी, वडा ५ मा ७ सय १८ मत ल्याएर दिलाराम चौधरी वडा अध्यक्ष बन्नुभएकाे छ।