हट्यो एमालेको संसद् अवरोध • Nepal's Trusted Digital Newspaperहट्यो एमालेको संसद् अवरोध • Nepal's Trusted Digital Newspaper

हट्यो एमालेको संसद् अवरोध

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ४, २०७९
हट्यो एमालेको संसद् अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले गर्दै आएको अवरोध हटेको छ। मंगलबार बसेको संसद् बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अब अवरोध र विरोध फरक ढंगले हुने बताएसँगै लामो समयदेखिको अवरोध खुलेको हो। एमालेले कारबाहीका लागि सिफारिस गरेका सांसदहरूलाई कारबाही नगरेको भन्दै २३ भदौदेखि संसद् अवरुद्ध गर्दै आएको थियो।

विशेष समयमा बोल्नुभएका उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयाे, ‘हामीले विरोध गरेको कुरा दल र दलको पद्धतिसँग जोडिएको विषय हो। सभामुखले समान व्यवहार गर्ने प्रतिबद्धता गरे पनि व्यवहारमा लागू भएन,’ उहाँले भन्नुभयाे, ‘यो विषय पार्टी विभाजनमा कारक बनेपछि आवाज उठाउनु परेको थियो।’

अदालतले पनि गम्भीर विषयमा बाहना गर्दै मुद्दा टार्दै लगेकामा आश्चर्य प्रकट गर्दै उहाँले भन्नुभयाे, ‘अदालतले कारबाही नगरे पनि भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् भन्ने लाग्छ।’ मुलुकको अर्थतन्त्र संकटमा रहेको बताउँदै उहाँले यस विषयमा सदनमा व्यापक छलफल हुनुपर्ने बताउनुभयाे। सरकार सत्ताको सेटिङमा व्यस्त रहेको बताउँदै उहाँले १० महिना बितिसक्दा पनि पुँजीगत खर्च ३० प्रतिशत हुन नसकेको बताउनुभयाे। यता एमालेले राष्ट्रियसभा बैठक भने अवरुद्ध पारेको छ। बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपराह्न बोलाइएको राष्ट्रियसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उभिएर अवरुद्ध पार्नुभएकाे हाे।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका