आज विश्व दूरसञ्चार दिवस, नेपाली दूरसञ्चार इतिहास • Nepal's Trusted Digital Newspaperआज विश्व दूरसञ्चार दिवस, नेपाली दूरसञ्चार इतिहास • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज विश्व दूरसञ्चार दिवस, नेपाली दूरसञ्चार इतिहास

आज विश्व दूरसञ्चार दिवस, नेपाली दूरसञ्चार इतिहास

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३, २०७९
आज विश्व दूरसञ्चार दिवस,  नेपाली दूरसञ्चार इतिहास

आजको युग मोबाइल फोन, इन्टरनेट अनि अन्य सञ्चारका साधनहरूको युग हो जहाँ एउटा क्लिकमा संसार उपलब्ध छ ।

चलचित्रदेखी गीतसम्म, खानादेखि कपडासम्म अनि संसारका कुनै पनि कुनाका मानिस या विषयसँग इन्टरनेटले क्षणभरमै साक्षात्कार र वार्तालाप गराईदिन्छ ।

पुराणहरूमा कल्प वृक्षको अवधारणा छ । यस्तो वृक्ष जसले हरेक मनोकामना पूर्ण गरिदिन्छ त्यसलाई कल्प–वृक्ष भनिन्छ । यसअर्थमा सञ्चारको युगले पनि इ्न्टरनेट रूपी कल्पवृक्ष पाएको छ । अनि विभिन्न ग्याजेटहरू प्रयोगले हामी स्वतन्त्र इन्टरनेट संसारमा विचरण गर्दछौँ । हैन त रु दूरसञ्चार अर्थात परपरसम्म सञ्चार गर्ने प्रविधिको यो युगान्तकारी परिवर्तन १९औँ शताब्दीको अन्त्यबाट अझ धेरै प्रगतिउन्मुख भएको हो ।

नेपाली दूरसञ्चार इतिहास
सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो ।

सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो ।

सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो ।

सन् १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । सन् १९९७ मा वीरगंज–रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिँधा सम्पर्क जोडियो ।

सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो । २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो । नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । त्यसपछिका उपलब्धिहरू त नयाँ पुस्ता नै गवाही हुन् ।

तर सुस्तरी हाम्रा पुस्ताहरू मोबाइल, इन्टरनेट, फेसबुक, यु–ट्यूब लगायत अन्य प्रविधि र दूरसञ्चारका कीर्तिमानी आयामसँग लुटपुटिँदै हुर्कदैछन् ।

विश्व दूरसञ्चार दिवस
विश्व समुदायले दूरसञ्चारका यस्तै प्रविधिका विकाससँगै आएका चुनौती र अवसरहरूलाई केलाउँदै मानव विकासका शृंखलाको फेहरिस्त आज वर्णन गर्दछ, विश्व दूरसञ्चार दिवस र सूचना प्रविधि समाज दिवसमार्फत् ।

विश्व दूरसञ्चार दिवसको परिवेश
सञ्चार प्रविधिबारे नागरिकहरूलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।

त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रूपमा समेत मनाइँदैछ । नेपालमा समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ ।

दूरसञ्चारले निकट सम्बन्धहरूको अवहेलना र आत्मीयताको हत्या नगरोस् । यसको सही प्रयोग अनि सीमाहरू सबैलाई थाहा होस् । दिनभरिमा हाम्रा फोनहरू कैयन पटक बज्नेछन्, हरेक पल्ट सुखद खबर पाइयोस्, आशाको सञ्चार होस् । नयाँ पुस्ताले मोबाइल र कम्प्युटर स्क्रिन बाहिरका संसार देखून् र बुझू्न् । ग्राफिक्सभित्रका गहिरा कुराहरूका साथै खेतका गह्रा, वास्तविक खेल, दौड, समाज अनि मानिसको माया बुझून् ।

सन् २०२२ को दूरसञ्चार दिवसको नारा नै Digital technologies for Older Persons and Healthy Ageing “ अर्थात् वृद्धवृद्धाहरुका लागि डिजीटल प्रविधीहरुको महत्वको विष्यामा केन्द्रित छ । दूरसञ्चारले सहज पारेको जीवन–शैलीको आत्मसाथ गर्दै थप चाहिने रूपान्तरणको पैरवी गरेको हो ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका