काठमाडौं । स्थानीय तह निर्वाचनका दिन आज देशभरका विभिन्न ठाउँमा पानी पर्दा मतदातालाई सास्ती भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसम बदली हुँदा देशभरका विभिन्न ठाउँमा पानी परिरहेको छ ।
प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । मौसम विभागको बुलेटिनले सबैभन्दा बढी पानी लेलेमा परिरहेको देखाएको छ ।
सिन्धुपाल्चोक, थली, चितवन, लेले, थोरी, नवलपसारी, रुपन्देही, बाग्लङ, कास्की, काभ्रेपलाञ्चोक, हुम्ला, झापालगायत क्षेत्रमा अहिले पानी परिरहेको छ ।
विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अहिले परिरहेको पानी लामो समयसम्म रहनेछैन् । ‘‘आधा घण्टामै रोकिने प्रकृतिको पानी परिरहेको छ । बेलुकासम्म यही प्रक्रिया चलिरहन्छ,” उनले भने ।