हिमालका कथा बोकेका कामिरिता • Nepal's Trusted Digital Newspaperहिमालका कथा बोकेका कामिरिता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हिमालका कथा बोकेका कामिरिता

हिमालका कथा बोकेका कामिरिता

  • समाचारपाटी
  • बिहिबार, बैशाख २९, २०७९
हिमालका कथा बोकेका कामिरिता

५२ वर्षीय कामिरिता शेर्पाले यसपटक २६ औं पटक सगरमाथाको आरोहण गरेर आफ्नै यसअघिको कीर्तिमान तोडेको आधारशिविरमा रहेका सरकारी अधिकारी र उनीसम्बद्ध आरोहण कम्पनीले जनाएका छन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिवार साँझ ६ बजेर ५५ मिनेटमा उनको टोली चुचुरोमा पुगेको सगरमाथाको आधार शिविरमा रहेका नेपाल सरकारका एकजना सम्पर्क अधिकृत खिमलाल गौतमले बताएका छन् ।

“यसअघिको २५ औँ पटकको रेकर्ड उहाँ आफैँले तोड्नुभएको छ । उहाँहरू अहिले फर्किँदै हुनुहुन्छ । उहाँहरू सायद हिजो राति ८००० मिटरमा बस्नुभयो । त्यहाँबाट फर्किँदै हुनुहुन्छ भन्ने जानकारी आएको छ,“ गौतमले भने । क्याम्प ३ फर्किँदै गरेका आरोहीहरूको स्वास्थ्य ठीक रहेको जानकारी आफूले पाएको गौतमले बताए । टोलीमा उनीसहित सोना शेर्पा, निमा तासी शेर्पा, फुर्बा छिरिङ शेर्पा, तेन्जिङ ग्यालजेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्बा कुन्साङ शेर्पा, मिङ्मा दण्ढु शेर्पा, पास्तेनजी शेर्पा, तारेमन तामाङ र फुर्बा छोतर रहेका छन् ।

अबको योजना के छ ?
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका शेर्पाले २२ वर्ष हुँदादेखि हिमाल चढ्न थालेको तथ्याङ्क छ । सगरमाथाको चुचुरोमा भने उनी पहिलोपटक सन् १९९४ मा २४ वर्षको हुँदा पुगेका थिए । त्यसयता सन् २०२२ सम्ममा उनले २६ औँ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । कुनै कुनै वर्षमा त दुईपटक सम्म पनि आरोहण गरेका छन् । सगरमाथा आरोहणलाई आफ्नो रहर भन्दा बाध्यता र जीविकोपार्जनको माध्यम भएको बताउने कामिरिताले यसै वर्ष अर्को आरोहण गर्लान् ?
यसअघि प्रत्येक पटक सगरमाथाबाट फर्किएपछि फेरि चढ्ने ईच्छाबारे सोध्दा उनी जीवनमा धेरै कुरा अनिश्चित हुने बताउने गर्थे । यसपटक भने उनी आधारशिविर फर्किँदै गरेकाले उनीसँग सम्पर्क हुनसकेको छैन ।
उनको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले टोली आइतवार बेलुकासम्म आधार शिविर आइपुग्ने बताए ।

“आफ्नो रेकर्ड तोड्नुभन्दा पनि उहाँले आरोहण गरेर नेपाल र हिमाल क्षेत्रलाई निरन्तर योगदान पु¥याउनुभएको हो । उहाँले अझै धेरै चढ्नुहुन्छ । २६ होइन ३०औँ पटक चढ्न सक्नुहुन्छ,“ सेभेन समिट ट्रेक्सका अध्यक्ष शेर्पाले भने ।

“उहाँले पहिला पनि एउटै सीजनमा दुईपटक आरोहण गर्नुभएको छ । त्यसैले यो पटक पनि गर्नुहोला । तर अब आधार शिविर आएर अनि योजना सुनाउनु होला ।” सामाजिक सञ्जालमा कामिरिताले यही वर्ष अर्को पनि आरोहण गर्नसक्ने भन्ने अभिव्यक्ति पनि व्यक्त भएका छन् ।

ट्वीटर प्रयोगकर्ता सौरभ ढकालले अलि ठट्यौली शैलीमा लेखेका छन्, “फुत्त १÷२ दिनमा फेरि चढ्न बेर छैन । यो त डोरी राख्न मात्रै गएको हो ।”
चार वर्षदेखि आफ्नै कीर्तिमान तोड्दै
कामिरिताले सन् २०१८ देखि आफ्नै कीर्तिमान तोड्दै आएका छन् । उनीपछि सबैभन्दा धेरै कीर्तिमान राख्नेमा आप्पा शेर्पा पर्छन् । सन् २०१८ को मे महिनामा २२ औँ पटक सगरमाथा आरोहण गरेसँगै कामिरिताले आप्पा शेर्पाको रेकर्ड तोडेका थिए । कामिरिताले २८ वर्षको अवधिमा २६ पटक सगरमाथा आरोहण गरेका छन् र केही वर्ष त एक वर्षभित्रै दुई पटकसम्म पनि गरेका छन् । पछिल्लोपटक सन् २०१९ मा उनले २३ औँ र २४ औँ पटक आरोहण गरेका थिए । सन् २०१९ मा कामिरिताले राष्ट्रपति विद्या भण्डारीबाट सुप्रबल जनसेवाश्री विभूषण पाएका थिए ।

त्योभन्दा अघिल्लो वर्ष उनले सर्वाधिक २२ पटक सगरमाथा आरोहण गरेको गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र पाएका थिए ।
आरोहणसँगै पूजा
विगतमा जस्तै कामिरिताले सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान राख्दा यता काठमाण्डू बौद्धमा रहकी उनकी श्रीमती लाक्पा जाङ्मु शेर्पा भने पूजामै व्यस्त रहिन् ।

श्रीमान्ले जतिपटक सगरमाथाको आरोहण गरे पनि मनमा उत्तिकै त्रास हुने बताउने लाक्पा आइतवार पूजाका लागि बौद्धमा रहेको उनको परिवार स्रोतले जनाएको छ । कामिरिताले हरेकपटक चुचुरो टेक्नुअघिको आफ्नो शैलीबारे यसअघि भनेका थिए, “तपाईँको शरीरमा पाइला टेक्नुप¥यो भनेर माफी माग्दै पूजा गर्छु । चुचुरोमा पाइला टेक्नुअगावै तलबाटै तीन पटक ढोगेर माफी माग्छु ।”

उनका दाजु लाक्पारिता शेर्पा सातै महादेशका अग्ला हिमालहरू चढ्ने पहिलो शेर्पा हुन् ।

१७ पटक सगरमाथा आरोहण गरेका उनी सन् २०१४ र सन् २०१५ मा सगरमाथामा ठूला विपद् आएपछि आरोहणबाट सन्यास लिएर हाल आरोहण व्यवस्थापनको काम गर्छन् । उनका बाबु मिङ्मा शेर्पा नेपालको सुरुवाती समयका आरोही हुन् जो एकजना प्रथम सफल आरोही तेञ्जिङ नोर्गे शेर्पासँग आरोहण सिकेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका