निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि खटिए २ लाख ६५ हजार सुरक्षाकर्मी • Nepal's Trusted Digital Newspaperनिर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि खटिए २ लाख ६५ हजार सुरक्षाकर्मी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि खटिए २ लाख ६५ हजार सुरक्षाकर्मी

निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि खटिए २ लाख ६५ हजार सुरक्षाकर्मी

  • समाचारपाटी
  • बिहिबार, बैशाख २९, २०७९
निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि खटिए २ लाख ६५ हजार सुरक्षाकर्मी

काठमाडौं । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे दुई लाख भन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार नेपाली सेनाबाट ७१ हजार ५ सय, नेपाल प्रहरीबाट ६२ हजार, सशस्त्र प्रहरी बलबाट ३२ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट दुई हजार कर्मचारी निर्वाचन सुरक्षाका लागि कार्यक्षेत्रमा पठाइएका छन् । निर्वाचन सुरक्षाका लागि भनेर भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि निर्वाचन सुरक्षार्थ खटिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीय तह एकीकृत सुरक्षा योजना-२०७८ अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ । मन्त्रालयले मतदान स्थललाई तीन तहमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाएको छ ।

मन्त्रालयले देशभरका १० हजार ७ सय ५६ मतदान केन्द्रमध्ये २ हजार ९ सय ४६ वटालाई अति संवेदनशील मानेको छ भने ४ हजार ४ सय २३ वटा संवेदनशील र ३ हजार ३सय ७८ वटा सामान्य छन् । ‘सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी खटाएका छौं,’ प्रवक्ता पोखरेल भन्नुहुन्छ, ‘यद्यपि संवेदनशीलताका आधारमा सुरक्षाकर्मीको परिचालन जुनसुकै बेला पनि थपघट हुनसक्छ ।’

मन्त्रालयको रिपोर्ट अनुसार सबैभन्दा बढी अति संवेदनशील मतदान केन्द्र मधेश प्रदेशमा छन् । मधेशपछि लुम्बिनी, सुदूरपश्चिम र प्रदेश-१ लाई चुनौतिपूर्ण मानिएको छ ।

‘मतदान केन्द्रहरुको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना खटिने गरी तयारी पूरा भएको छ,’ पोखरेलले भन्नुभयाे, ‘राष्ट्रिय अनुसन्धान विभागले निगरानी र सूचना संकलनको काम गर्छ ।’

चार वटै सुरक्षा निकायलाई चुनावमा परिचालन गर्न मन्त्रालयले गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा केन्द्रीय सुरक्षा समिति बनाएको छ । समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारी पनि सदस्य छन् । उनीहरुले आवश्यकता अनुसार देशभरका सुरक्षाकर्मीलाई निर्देशन दिनेछन् ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका