स्याङ्गजा । स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका वडा नं २ स्थानचौरमा अवस्थित श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालयको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
मङ्गलबार पर्वतारोही, शिक्षा प्रेमी, समाजसेवी जापानीज नागरिक नोगुची केनद्वारा विद्यालय समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे ।
विद्यालय १ करोड ५० लाख लागतमा विद्यालय मर्मत, बालकक्षा, पुस्तकालय र प्रदर्शनी कक्षको निर्माण, फर्निचर व्यवस्थापन, विद्यालय हाता घेराबार आदि जस्ता कार्यहरू आधुनिक तरीकाले जापानीज शैलीमा निर्माण गरिएको छ।
विद्यालय नेपालकै तथा स्याङ्गजा जिल्लाकै आकर्षक नमूना विद्यालय बनेकाे छ । विद्यालय बिद्यार्थी र अभिभावकको मन जित्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदार बताउनुभएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि पर्वतारोही, शिक्षा प्रेमी, समाजसेवी, जापान नागरिक नोगुची केनले सन् २०१४ देखि फुजी हिमाल सरसफाई कार्यक्रम, जापानका भुकम्प प्रभावित क्षेत्रहरूमा सहयोग, नेपालका विद्यालयहरूमा स्कुल ब्यागहरू (हालसम्म २,५०० वटा जापानीज राण्दोशेरू ) वितरण गर्दै आइरहनुभएकाे छ ।
कार्यक्रममा सहकार्य गरिरहनुभएका हाल जापानमा कार्यरत गोदार उपकार थापाको अनुरोधमा यस विद्यालयको जीर्ण भवनको मर्मत,निर्माण गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि जापान नागरिक नोगुची केन सँग मिलेर उपकारले विद्यालय स्तरउन्नतीकाे कार्य साझेदारी कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे।
गोदार उपकार थापा ले आगामी दिनमा पनि जापान नागरिक नोगुची सँग सधैं संगै रही काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा उपकारले अनलाईन मार्फत सहभागीता जनाउनुभएकाे थियाे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक सुवेदीले स्वागत गर्नुभएको थियाे । उक्त कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने शिक्षा प्रेमी महानुभावहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा भलिबल प्रतियोगिता, कराँते खेल प्रदर्शनी र कक्षा अवलोकन तथा निरीक्षण समेत गरिएको थियो। कार्यक्रममा शिक्षक, बिद्यार्थी, अभिभावकले आफ्नो मन्तव्यहरू राख्नुभएकाे थियाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा Peak Aid, Ken Noguchi’s Foundation Japan का अध्यक्ष नोगुची केनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक, शिक्षक, शिक्षा प्रेमी महानुभावहरु, पत्रकार लगायत बिद्यार्थीहरूको उपस्थिति थियाे ।
कार्यक्रममा अध्यक्ष गोदारले विद्यालयका आगामी योजना, जापानीज शैलीमा कक्षा सञ्चालन र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने भनाइ सहित कार्यक्रमको समापन भएकाे थियाे ।