लेखनाथ । स्थानीय तहको चुनावी अभियान अन्तरगत नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २९ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । घरदैलो अभियानमा आफ्ना चुनावी एजेण्डासहित उमेद्वारले विकास र निकासका कुरा सुनाउँदै जनताको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियाे ।
यसै क्रममा आइतबार पोखरा २९ को पट्नेरीमा भएको घरदैलोसहितको चुनावी कोण सभामा वडाअध्यक्ष पदका उमेद्वार श्रीप्रसाद गुरुङले अव्यवस्थित बस्तीलाई व्यवस्थित गरेर एमाले सरकारमा भएको समयमा अगाडि सारेको सुकुम्वासी समस्याको समाधानका लागि आफूले पहिलो प्रथामिकतामा राख्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको अभियान तीव्र रुपमा अगाडि बढिरहेको अवस्थामा सूर्यमुखी तमु समाजले नेकपा एमाले पोखरा २९ र ३० का उमेद्वारको परिचयात्मक कार्यक्रमसहित संयुक्त रुपमा सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले विकासको मुलमर्म नेकपा एमालेका एजेण्डामा भएकाले सबै तमु समुदायले गठबन्धनलाई घुडा टेकाउने गरि आफ्नो मतबाट विकास र अग्रगामी सोच भएको पाटीलाई जिताउन आग्रह गर्नुभएकाे थियाे ।
सोही अवसरमा नेकपा एमाले पोखरा महानगरपालिका वडा नं ३० वडाअध्यक्षका उमेद्वार सोमनाथ बास्तोलले गत वर्ष पनि आफ्नो पाटीले विजय प्राप्त गरेपछि गरेका विकास निर्माणका अधुरा कामलाई पुरा गर्ने वाचा बन्धनका साथ टोल टोलमा देखिएका समस्यालाई जनस्तरबाट बुझने र निर्वाचन पछि ती समस्यालाई पूर्ण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियाे ।
गत २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले विजय प्राप्त गरेको वडा नं २९ मा यस पटक वडाअध्यक्षमा श्रीप्रसाद गुरुङ, महिला सदस्यमा निर्मला पौडेल, दलित महिला सदस्यमा सुकमाया सुनार र सदस्यमा कालिदास पोखरेल र क्षेत्रबहादुर गरुङको उमेद्वारी छ भने वडा नं ३० बाट वडाअध्यक्षमा सोमनाथ बास्तोला, महिला सदस्यमा भीमकुमारी पुन, दलित महिला सदस्यमा उमा परियार र वडा सदस्यमा प्रेमराज बसौला र नवराज भटराईको उमेद्वारी छ ।