अटेरीको चुनाव खर्च २ लाख ७१ हजार
पोखरा । अटेरी अभियानका स्वतन्त्र उम्मेद्वारहरुले चुनावी खर्च सार्वजनिक गर्नुभएकाे छ । स्थानीय चुनावमा राजनीतिक भागबण्डाबिरुद्ध स्वतन्त्र उम्मेद्वारी दिनुभएका पोखराका उम्मेद्वारहरुले चुनावी खर्च सार्वजनिक गरेका हुन् ।
हालसम्म अटेरी अभियान पोखराको चुनावी खर्च २ लाख ७१ हजार ५ रुपैयाँ खर्च भएको अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले बताउनुभयाे । ‘सुरुदेखि नै एकदम कम खर्चमा चुनाव लड्ने भनेर हामीले मिनिमाइज गरेका थियौं । सवारी, फोन, इन्टरनेट, कार्ययोजनापत्रमा गरेर हाम्रो २ लाख ७१ हजार रुपैयाँ चुनावमा खर्च भएको छ,’ उहाँले भन्नुभयाे ।
खर्चमध्ये १ लाख ३ हजार ७ सय ५० रुपैयाँ कार्ययोजनापत्र बिक्रिबाट उठेको उहाँले सुनाउनुभयाे । अटेरी अभियानले चुनावी कार्ययोजनापत्र बिक्रि गरेर चुनाव लड्ने सुरुआतदेखि नै बताउँदै आएको थियो । बाँकी १ लाख ६७ हजार २ सय ५५ रुपैयाँ खर्च पनि ८० प्रतिशत सहयोगी दाताबाट प्राप्त भएको संयोजक कार्कीले सुनाउनुभयाे ।
पोखराबाट नगरप्रमुख सहित १७ जनाले अटेरी अभियान मार्फत स्वतन्त्र उम्मेद्वारी दिनुभएकाे छ ।