काठमाडौं । भारोत्तोलनकी खेलाडी सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले सन्जु बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको बताउनुभएकाे छ ।
प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी शाहले बताउनुभयाे । हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन ।
प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ । नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आउनुभएकाे थियाे । एसियाली खेलकुदको तयारीका लागि भने उहाँ ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहनुभएकाे थियाे ।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जित्नुभएकाे थियाे ।