जनताको आँगनमा पुगेर समस्या सुन्छौँ, योजना बनाउँछौँः महेन्द्र गुरुङ • Nepal's Trusted Digital Newspaperजनताको आँगनमा पुगेर समस्या सुन्छौँ, योजना बनाउँछौँः महेन्द्र गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जनताको आँगनमा पुगेर समस्या सुन्छौँ, योजना बनाउँछौँः महेन्द्र गुरुङ

जनताको आँगनमा पुगेर समस्या सुन्छौँ, योजना बनाउँछौँः महेन्द्र गुरुङ

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
जनताको आँगनमा पुगेर समस्या सुन्छौँ, योजना बनाउँछौँः महेन्द्र गुरुङ

पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार रहनुभएका शिवबहादुर गुरुङ (महेन्द्र)ले चुनाव जितेमा जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र समाधान गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।

शनिबार मादी ६ मा आयोजित चुनावी सभामा बोल्दै उनले प्रतिबद्धता पत्रमा सबै योजना समेट्न नसकिने भएकाले चुनाव जितेपछि जनतासँगै योजना माग्ने बताउनुभयाे । ‘घोषणापत्र सबैको हातहातमा छ । त्यसमा केही छुटेको छ भने माफी चाहन्छु । गाउँ, घरआँगनमा आएर छुटेका काम गर्न, समस्या सुन्न र योजना बनाउन तयार छौँ,’ उहाँले भन्नुभयाे ।

उहाँले कांग्रेस र माओवादीमा लागेकाको भविष्य खोसिएको बताउनुभयाे । बाहिरबाट आएका ‘टुरिस्ट नेता’लाई गाउँमा ल्याएर गठबन्धनले सभा गरेको र भोलि उसैले चुनाव लड्न सक्ने भन्दै पार्टीमै भएकाले अवसर नपाउने दाबी गर्नुभयाे । ‘कांग्रेसमा लागेका, वाइसिएलमा लागेका धेरैलाई सुधायौँ ।

नसुध्रिएका साथीहरु आज पनि हाम्रो भविष्य कांग्रेस र माओवादीमा छ भनेर बसेका छन्,’ उहाँले थप्नुभयाे, ‘तर छैन, आज मनाङका नेतालाई ल्याएर मादीमा प्रचार गराइएको छ । भोलि संविधानसभा लड्न आजैबाट लागेका छन् । यहाँका नेपाली कांग्रेस र माओवादीका साथीहरुको भविष्य खोसिएको छ । भविष्य एमालेमा छ ।’ माओवादी नेता देव गुरुङ गठबन्धनको चुनावी सभामा भाग लिन शनिबार मादी पुग्नुभएकाे थियाे ।

पालिका र वडामा युवा उम्मेद्वार ल्याएकाले एमालेमा भविष्य सुनिश्चित रहेको महेन्द्रले दाबी गर्नुभयाे । ‘महासागरमा गएर हराइन्छ कि भनेर चिन्ता लिनुपदैर्न । हाम्रो पार्टीको नीतिअनुसार सबैलाई स–सम्मान राखिन्छ,’ हाँनले भन्नुभयाे ।

उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले जनतालाई दुःख पर्दा आफूहरु २४ घण्टा खटिने प्रतिबद्धता जनाउनुभयाे । महिला हिंसाविरुद्ध र महिलाको हकअधिकार स्थापनामा आफू सक्रिय भएर लाग्ने उहाँले बताउनुभयाे । ‘राज्यले ३३ प्रतिशत हक अधिकार भनेको छ । तर, महिला हिंसा दिनदिनै भइरहेको छ । हामी आर्थिक र सामाजिक रुपले सशक्त नभएकाले हिंसाको सिकार भएका हौँ,’ उहाँले भन्नुभयाे,‘त्यसैले महिलालाई सशक्त बनाउँछु भन्ने वाचा गर्न चाहन्छु ।’

मादी ६ का वडाध्यक्ष उम्मेद्वार डिलबहादुर क्षेत्रीले उम्मेद्वार आफ्नो युवा ऊर्जा र जोसजाँगर वडाको विकासका लागि खर्चने बताउनुभयाे । वडाले प्रतिबद्धता पत्रमा लेखेका विषय वडाबासीकै सल्लाह–सुझावमा इमानदार भएर पालना गर्ने प्रतिबद्धता जनाउनुभयाे । ‘गाउँ फर्क अभियानदेखि युवाको आर्थिक उन्नतिसम्मका कार्यक्रम राखेका छौँ । जनताकै सल्लाह सुझावले अघि बढ्छौँ । जात, धर्म,’टोल भनेर भेदभाव नगरी काम गर्छौं,’ उहाँले भन्नुभयाे । उहाँले चुनाव जितेमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र उद्यमशीलताका योजनामा केन्द्रीत रहने
बताउनुभयाे ।

माओवादी छोडेर एमाले प्रवेश गरेका नेता रुद्र रानाभाटले युवाले गाउँपालिका हाँक्ने आँट गरेकाले साथ दिन मादीबासीलाई आग्रह गर्नुभएकाे छ । उहाँले गठबन्धन ‘पाँच वस्तुको एउटा गोठाला’ भएको टिप्पणी गर्नुभएकाे छ । ‘ गठबन्धन पाँच वटा वस्तुको एउटा गोठालो भएको छ । हाम्रो घरमा भएका गाइ, गोरु, भैँसी, कुकुरलाई खुल्ला छोड्ने हो भने आफ्नो बाटो लाग्छन्,’ उहाँले थप्नुभयाे, ‘गठबन्धन एउटा गोठालेले सबै पशु हेर्न नसकेजस्तै भएको छ । एमालेलाई बलियो देखेर देशका बाँकी पाँच ठूला शक्ति मिलेर आएका छन् ।’ उहाँले गठबन्धनलाई मत हाल्नु ‘बालुवामा पानी हाले’जस्तै भएको बताउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका