भोर्लेटार, २३ बैशाख । नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं मध्यनेपाल नगरपालिकाका मेयर पदका उमेद्वार रमेश कुमार पाण्डेले मध्यनेपालमा सुरु भएका विकास निर्माणका कामलाई निरन्तरता दिनका लागि नेपाली कांग्रेस र गठबन्धनका उमेद्वारहरुलाई जिताउन जरुरी रहेको बताउनुभयो ।
मध्यनेपाल ५ समिभञ्ज्याङमा आयोजित कोणसभामा बोल्दै पाण्डेले नगरपालिकाको विकासका लागि विभिन्न जातीहरुलाई लगाएर केहि शक्तिले फाइदा लिन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो – “यहाँ लडाई नेकपा एमाले र नेपाली कांग्रेसको हो, यहाँ लडाई गुरुङ र मगरको होइन, क्षेत्री र नेवारको होइन, कहिलेकाँही म सामाजिक सञ्जाल हेर्ने गर्छु, यहाँको लडाई काँग्रेस र एमालेको हो, त्यसैले तपाईहरुले यहाँ कांग्रेस र एमालेले के के गर्यो भन्ने कुरा हो ।”
३ वर्ष नेकपा एमालेको प्रदेश र संघमा दुई तिहाइको सरकार रहेको बताउदै दुई पिप्लेबाट समिभञ्झ्याङ आउने बाटो एमालेको विरोधका कारण पिच हुन नसकेको बताउनुभयो ।
विकास गर्न नचाहाने र समाजमा लडाई गराईरहने एमालेका कारण यहाँ विकास सोचे अनुरुप हुन नसकेको उहाँको आरोप रहेको छ । पाण्डेले कांग्रेसले पारेको योजना पनि काट्नेगरेको बताउनुभयो भयो । उहाँले भन्नुभयो – “नेपाली कांग्रेसको पालामा बनेको चेलिबेटी मार्ग काटेर बजेट अन्तै पार्नुभयो । विकासमा यस्तो राजनीति गर्ने हो भने समिभज्झ्याङ फेरी बन्दैन ।” उहाँले दुईपिप्लेबाट समिभज्झ्याङ जानेबाटो आफुहरुको पहलमा अब कालोपत्रे हुने बताउनुभयो । उहाँले उमेद्वारहरुलाई किन विकासका योजना ल्याउन नसकेको भने प्रश्न गर्न आग्रह गर्नुभयो ।
उहाँले चर्दीखोलामा मध्यनेपाल नगरपालिकाले पुल बनाउने भन्दा एमालेका प्रतिनिधिहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग कुरा गरेर मोटरेबल पुल बनाउने भनेर नगरपालिकाबाट बनाउन नदिएको तर पछि त्यो पुलको विषयमा कुनै पहल नगरेको उहाँको भनाई रहेको छ ।
उहाँले भन्नुभयो – “चर्दीखोलामा पुल बनाउने भनेर हामीले बजेट छुट्यायौँ, तर एमालेका साथीहरुले हाम्रो मुख्यमन्त्रीसंग हामी कुरा गरेर मोटरेबल पुल ल्याउछौँ, भन्नुभयो ठिक छ भनेर मैले प्रतिक्षा गरे, १ वर्ष वित्यो, २ वर्ष वित्यो ३ वर्ष वित्यो तर पुल आएन, अहिले नगरपालिकाले बजेट विनियोजन गरेर चर्दीखोला मोटरेबल पुल बन्दैछ ।” मेयर पदका उमेद्वार पाण्डेले पराजुलीबेसीबाट समिभज्झ्याङ पुग्ने बाटो कालोपत्रे गर्ने विषय नगरपालिकाको प्राथमीकतामा रहेको बताउनुभयो । उहाँले विकाशमा राजनीति गर्न नहुने बताउनुभयो । आफुहरुले नगरपालिकाको विकासमा उदाहरणीय काम भएको भन्दै आफ्नो जित सुनिश्चित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “गठबन्धन नहुदापनि हामीले चुनाव जितेका थियौँ, अहिले गठबन्धन छ, हामीले नगरपालिकामा केहि काम पनि गरेका छौँ, त्यसैले आफ्नो भोट खेर नफाल्नुहोला एमालेले चुनाव जित्दैनन् ।” उहाँले विकासका निम्ती नेपाली कांग्रेस र गठबन्धनका उमेद्वारहरुलाई विजयी गराउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपमेयरका नेकपा माओवादी मध्यनेपाल नगरपालिकाका अध्यक्ष एवं नगरपालिकाका उपमेयर पदका उमेद्वार उपेन्द्र अधिकारी, मध्यनेपाल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पदका उमेद्वार ओमबिर गुरुङ लगायतले नगरको विकासका लागि गठबन्धनका उमेद्वारहरुलाई मतदान गर्न अपिल गर्नुभयो ।