पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताउनुभएकाे छ । पोखरामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महाभारतमा सत्य र न्यायको लागि लडाईं भएजस्तै यसपटकको निर्वाचन एमालेका लागि सत्य र न्यायको लागि भएको बताउनुभएकाे हाे । ‘महाभारत युद्धमा कौरव र पाण्डवबीचको लडाईं जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ ।’ उहाँले भन्नुभयाे, ‘महाभारतको लडाईं पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।’
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका गुरुङले एमालेका तर्फबाट अगाडि सारिएका उमेद्वारको अन्य पार्टीका उमेद्वारसँग तुलना हुन नसक्ने भन्दै योग्यता, क्षमता, अनुभवलगायत क्षेत्रमा योगदान र सक्रियताको हिसाबले पार्टीले सबै हिसावले क्षमतावान् उमेद्वारलाई अगाडि सारेकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएकाे छ ।
नेपाली नागरिक र सिंगो देशको रक्षा गर्ने पार्टी एमाले भएको बताउनुभयाे । ‘समृद्ध नेपाल र सुखी नेपालीको सपना हामीले देखेका छौं, त्यो सपनालाई आफ्नो गन्तव्य ठानेर अगाडि बढेको एमालेको जित सारा नेपालीको जित हो ।’ उहाँले भन्नुभयाे, ‘राष्ट्रिय स्वाधीनताको झण्डा उठाएर गुमेको भुभाग कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरेर यो भाग हाम्रो हो । मिचिएकै हो भन्न सक्ने नेता केपी ओली मात्रै हो ।’उपमहासचिव गुरुङले अहिले माओवादी हिंडिरहेको बाटो गलत भएको जिकिर गर्नुभयाे ।
कांग्रेस पुँजीवादीको पार्टी भएको बताउँदै उहाँले माओवादीले चुनावमा आफ्नो एजेण्डा नलिएर पुँजीवादी पार्टीको एजेण्डा बोकेर हिँड्ने पार्टी कस्तो कम्युनिष्ट भनेर प्रश्न गर्नुभयाे । ‘माओवादीको पहिचान छैन अहिले, त्यो गुम्यो । अहिलेको चुनावमा माओवादीको आफ्नो घोषणपत्र छैन, काँग्रेसको प्रचार गर्दै हिड्ने माओवादी त्यो कस्तो कम्युनिष्ट हुन्छ ?’ उहाँले भन्नुभयाे, ‘पुँजीवादी पार्टीको घोेषणपत्र बोकेर हिड्ने पार्टी, पुँजीवादी पार्टीको झण्डा बोकेर हिड्ने पार्टी अब कम्युनिष्ट रहेन ।’कार्यक्रममा मेयरका उमेदवार कृष्ण थापाले पोखरा ९ को विकासका लागि व्यवस्थित बसोबास, अत्याधुनिक बसपार्क र सडक निर्माण तथा स्तरोन्नती लगायतका समस्या समाधान गर्ने बताउनुभयाे । उपमेयर पदका उमेदवार मञ्जुदेवी गुरुङले स्थानीय जनताको आवश्यकताको आधारमा विकास, निर्माणका काम गरिने उल्लेख गर्नुभएकाे छ ।
त्यस्तै वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर गुरुङले वडा न. ९ मा गएको चुनवामा पराजित भए पनि एमालेले वडामा धेरै पुर्वाधार विकासका काम गरेको बताउनुभयाे । उहाँले पोखरा महानगर र सांसद कोषबाट १ करोडको बजेटमा सुकुम्वासी बस्तीमा सडक बनाउन सफल भएको बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘एक पटक एमालेलाई भोट हालेर हामीलाई विजयी बनाउनुहोस्, हामी सुखी वडा, समृद्धि पोखरा बनाउन चाहन्छौं ।’ उहाँले सुकुम्वासी बस्तीमा लालपुर्जा वितरण गर्ने र व्यवस्थित बसपार्क बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
निर्वाचन परिचालन कमिटी वडा नं ९ का संयोजक प्रकाश शर्माले सुकुम्वासी बस्तीका नागरिकलाई लालपुर्जा वितरण गर्न नेकपा एमालेले पहल गर्ने बताउनुभयाे । उहाँले वडा नं ९ को विकासका लागि सूर्य चिन्हमा मतदान गरी एमालेका सबै उमेदवारलाई अत्याधिक मतले विजयी गराउन मतदातासँग आग्रह गर्नुभएकाे छ ।
यसैबीच एमाले ९ ले चुनावी अभियान तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । मगंलबार एमालेको तर्फबाट मेयर, उपमेयर सहित वडा न. ९ का सम्पुर्ण उम्मेदवार र पार्टी नेता, कार्यकर्ताले सयुक्त घरदैले कार्यक्रम गर्नुभएकाे छ ।
घरदैलो कार्यक्रम अन्तरगत बुधबार नयाँ बजार, महेन्द्रपुल, न्युरोड, पृथ्वीचोक, शान्तीवन, बसपार्क लगायतका क्षेत्रमा घरदैलो सम्पन्न गरिएको सचिव जगन्नाथ खनालले जानकारी दिनुभयाे । चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाई भोलि पनि निरन्तरता दिइने निर्वाचन कमिटीले जनाएको छ ।