पोखरा । नेकपा एमाले पोखरा –१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा मेयर र उपमेयरसहित वडाका पाँचै जना उम्मेदवार र कार्यकर्ताको टोलीले वडाको विभिन्न टोलको परिक्रमा गरेको हो।
घरदैलो पश्चात् आयोजित कोण सभालाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी कृष्ण थापाले घरदैलो कार्यक्रममा वडावासीले देखाउनुभएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्याधिक मत पाएर बिजयी हुने बताउनुभएकाे छ।
थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै अनुभवहरु सँगालेको बताउनुभयाे। उहाँले २०५२ सालदेखि शुरु भएको माओवादी युद्ध र त्यसले निम्त्याएको ध्वंस अनि २०५९ साल असार ३१ गते तत्कालिन गठबन्धनका प्रधानमन्त्री शेर बहादुर देउवाले जननिर्वाचित संस्थाहरुलाई अपदस्त गरेको स्मरण गर्दै त्यसपछि लगातार १५ वर्ष स्थानीय तहमा कुनैपनि निर्वाचन नभएको र उक्त भयावह अवस्था आफूहरुले नजिकबाट देखेको बताउनुभयाे ।
थापाले अमरसिंहचोकदेखि तल झर्न अत्यन्त विकट रहेको अवस्थामा बाच्छेबुडुवामा ल्याण्डफिल्ड साइटको निर्माण गरेपछि यस क्षेत्रमा पहिलो पटक बाटो बनाएको बताउनुभयाे । तत्कालिन समयमा आफूहरुले नै पोखरामा विकास निर्माणको पूर्वाधारहरु कोरेको दाबी गर्नुभयाे।
पोखरामा झन्डै साढे ४ अर्वको खानेपानीको योजना आफू स्वयं साक्षी बसेर ल्याएको र यसै योजनाको तेस्रो फेजको निर्माण तथा विस्तार कार्य अहिले चलिरहेको उहाँले दाबी गर्नुभयाे।
अप्ठेरो अवस्थामा हिजो पोखरामा विकासका कार्यहरुको थालनी गरेको बताउँदै उहाँले पोखरा महानगरको मेयरमा मान बहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङको नेतृत्वले पनि विगतमा गरेका कामलाई निरन्तरता दिएको बताए।
उहाँले फेरी एउटा सुखद शौभाग्य मिलेको भन्दै देशकै उत्कृष्ट उपमेयरको निरन्तरता, २०५४ सालदेखि काम र अनुभवले खारिएको आफू र आशा गरिएका युवा नेतृत्व तोरण बानियाँ र उहाँको टीमले काम गर्नेमा विश्वस्त हुन वडावासीलाई आग्रह गर्नुभयाे। उहाँले भन्नुभयाे – “यो वडाको बाँकी रहेका सम्पूर्ण विकास हामीलाई गर्ने मौका दिनुहोस्, हामी गरेर देखाउँछौँ।“