पोखरा। “यो बाटो जसले पक्की बनाइदिन्छ, बाटो बनाउने विश्वासिलो आधार जसले देखाउँछ हाम्रो भोट उसैलाई जान्छ ।” गलेश्वर मार्ग निवासी मिदिना गुरुङले घरदैलो कार्यक्रमका लागि पुगेका उम्मेदवारलाई घरको गेटबाट निस्किदै भन्नुभयाे । उहाँले घर अगाडिको बाटो ढलानका लागि पटक–पटक सम्बन्धित निकायमा ताकेता गर्दा सुनुवाई नभएको गुनासो गर्नुभयाे । सोही मार्गकै देवी तिमिल्सिनाले बाटो बनाउन र सरकारी खानेपानीको पाईप विस्तार गर्न उम्मेदवारलाई सुझाउनुभयाे । तिमिल्सिनाको भनाई लाई समर्थन गर्दै छिमेकी डम्बर बहादुर थापाले पनि सहमती जनाउनुभएकाे थियाे ।
अर्का छिमेकी सुमित्रा थापाले उम्मेदवारलाई टिका लगाइदिंदै जितको शुभकामना दिनुभयाे र राम्रो काम गरेर नाम राख्नु भनेर पाँचै जनालाई आशिर्वाद दिनुभयाे । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले पोखरा –१५ ले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । वडावासीसँग भेटघाटका साथै समस्या सुन्न निस्किएको उम्मेदवारको टोलीलाई घरदैलोकै क्रममा गलेश्वरका स्थानीयले मन फुकाएर समस्याहरु राख्नुभयाे, भलाकुसारी गर्नुभयाे र आशिर्वाद दिएर पठाउनुभयाे।
वडा नं –१५ का खुल्ला वडा सदस्य पदका उम्मेदवार हुनुहुन्छ गलेश्वर निवासी युवा उम्मेदवार आशिष भण्डारी। गलेश्वरस्थित पार्क बनाउन, बास्केटबल ग्राउण्ड बनाउन र उक्त क्षेत्रका हरेक विकासका गतिविधि र कार्यक्रमको आयोजना उहाँकै अगुवाईमा हुँदै आएको छ। स्थानीयले उहाँलाई यसअघि नै युवा समाजसेवीका रुपमा चिन्दै आउनुभएकाे छ। झन् वडा सदस्यका लागि मनोनयनमा परेपछि उहाँसंग स्थानीयले धेरै आश गरेका छन्।
साेमबारको घरदैलोमा त्यसकारण पनि गुनासो र समस्याहरु धेरै आएका थिए। जनताको घर–घरमा समस्या सुन्न र भोट माग्न भण्डारी अन्य उम्मेदवारसँगै हुनुहुन्थ्याे। भण्डारीले सबैलाई आफूसहित पाँचै जनालाई भोट दिएर निर्वाचित गराए आफ्नो क्षेत्रका जनताले महसुस गर्ने गरी छिट्टै विकासको लहर ल्याउने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
यस्तै वडा अध्यक्ष पदका उम्मेदवार तोरण बहादुर बानियाँले गलेश्वर क्षेत्रको भित्रि मार्गको प्लानिङ आफूले गरेको भन्दै निर्वाचित भएको खण्डमा गलेश्वरवासीको समस्याको समाधान गर्न यथासक्य पहल गर्ने बताउनुभयाे। बानियाँले सबै मतदातासँग आफ्नो क्षेत्रको विकास गर्नकै लागि राजनीतिमा होमिएको बताउनुभयाे। उहाँले आफू लगायत आफ्नो टिमलाई जिताउन मतदातासँग प्रतिवद्वता जनाउँदै भन्नुभयाे –“हामीलाई जिताउनुस् , गाली गर्ने ठाउँ पाउनुहुन्न।“
घरदैलोका लागि निस्किएको उम्मेदवारसहितको टोली गलेश्वरस्थित गणेश मन्दिर भित्र पसी सामुहिक फोटो खिचाउँदै भने – ’जितेपछि भने फेरी यही मन्दिरमा आएर आशिर्वाद लिएर जनताको सेवामा लाग्छौं।“