चुनाव जिताउनुस्, मादीमा पक्षपातरहित विकास गर्छुः महेन्द्र गुरुङ • Nepal's Trusted Digital Newspaperचुनाव जिताउनुस्, मादीमा पक्षपातरहित विकास गर्छुः महेन्द्र गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चुनाव जिताउनुस्, मादीमा पक्षपातरहित विकास गर्छुः महेन्द्र गुरुङ

चुनाव जिताउनुस्, मादीमा पक्षपातरहित विकास गर्छुः महेन्द्र गुरुङ

  • समाचारपाटी
  • सोमवार, बैशाख १९, २०७९
चुनाव जिताउनुस्, मादीमा पक्षपातरहित विकास गर्छुः महेन्द्र गुरुङ

पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । मादी ८ मा आइतबार चुनावी सभामा बोल्दै उहाँले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले त्यस्तो नगर्ने स्पष्ट पार्नुभयाे ।

कास्कीको मादी गाउँपालिकामा १२ वटा वडा छन् । अध्यक्ष उम्मेद्वार महेन्द्रको घर मादी १० मा पर्छ । ‘प्रतिपक्षी दलका साथीहरुले मादीको माथिल्लो बेल्टमा गएर महेन्द्र तल्लो बेल्टको मान्छे हो र त्यसलाई भोट दिए विकास तल्लो बेल्टमा गर्छ भनेछन्,’ उहाँले भन्नुभयाे, ‘हामी कुनै वडा केन्द्रीत होइन, १२ वटै वडालाई समान विकास गर्ने गरी अघि बढ्छौँ । सबै वडा बराबर हुन्, हाम्रो आफ्नै हुन् ।’

२०७४ सालमा निर्वाचित पालिका नेतृत्वले गर्न नपाएका काम आफ्नो नेतृत्वले पुरा गर्ने उहाँको भनाइ थियो । मत दिनेहरुलाई पछुतो नहुने गरी काम गरेर देखाउने अध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाउनुभयाे । उहाँले आफूले जितेमा युवालाई उद्यमी बनाउने योजना ल्याउने बताउनुभयाे । ‘हाम्रो पार्टीले युवालाई उद्यमशीलतातिर जोड्न चाहन्छ । रोजगारी नपाएका गाउँका दाजुभाइलाई उद्यमी बनाउने योजना ल्याउँछौँ । वृद्धवृद्धा, बालबालिका, एकल महिला, उत्पीडित समुदाय हाम्रा प्राथमिकता हुन्छन्,’ उहाँले भन्नुभयाे ।

उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले महिला हिंसाविरुद्ध अभियान चलाउने सुनाउनुभयाे । चुनाव जितेमा पाँच वर्षसम्म जनताका समस्या सुनेर समाधान गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङको भनाइ थियो । ‘आमा सक्षम नभएसम्म कुनै घर सक्षम हुँदैन । घरेलु र शारीरिक हिंसामा धेरै महिला पर्नुभएको छ । यो समस्या समाधान गर्न प्राथमिकता दिन्छु,’ उहाँले भन्नुभयाे ।

एमाले मादीले आइतबार मादी ८ को पोसी, पर्गी, रबैडाँडा, नागिधार, पाखुरीबोटलगायत ठाउँमा घरदैलो गरेको थियो । एमालेबाट गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहेका महेन्द्र र कल्पनाले मादी ३, ४, ९ का मतदातालाई भेटिसकेको छन् । सोमबार मादी १२ मा घरदैलो कार्यक्रम र चुनावी सभा गर्ने तयारी छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका