राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ :- केन्द्रीय उपाध्यक्ष गुरुङ • Nepal's Trusted Digital Newspaperराप्रपा अब देशको ठुलो पार्टी बन्दैछ :- केन्द्रीय उपाध्यक्ष गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ :- केन्द्रीय उपाध्यक्ष गुरुङ

राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ :- केन्द्रीय उपाध्यक्ष गुरुङ

  • समाचारपाटी
  • आइतवार, बैशाख १८, २०७९
राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ :- केन्द्रीय उपाध्यक्ष गुरुङ

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले आगामी चुनावमा पार्टी नेपालकै तेस्रो ठुलो पार्टी हुने दाबी गर्नुभएकाे छ । पछिल्लो समय नेतृत्व परिवर्तन भएसँगै युवाहरुको आकर्षण राप्रपाप्रति बढेको उहाँले बताउनुभयाे । ‘पछिल्लो समयको तथ्यांकले यो देखाउँछ कि, हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति धेरै जनताको आशा धेरै बढेको छ । र, पार्टीमा पछिल्लो समय देखिएको आकर्षणले पनि यो कुरालाई पुष्टी गर्छ ।’ पोखरामा आयोजित राप्रपाको स्थानीय तह निर्वाचनका उम्मेदवार प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा राप्रपा केन्द्रीय उपाध्यक्ष गुरुङले भन्नुभयाे–‘हामी धर्मयुद्धमा छौँ । र, यो कुरामा स्पष्ट हुनुहोस् कि अन्त्यमा धर्मकै जित हुन्छ ।’पछिल्लो समय देशव्यापी रुपमा राप्रपा र राप्रपाले उठाएका मुद्दाको विषयमा सकारात्मक वहस चल्ने क्रम बढेको उहाँले बताउनुभयाे । पार्टीको यस्तो खाले माहौल बनेको ईतिहासमै पहिलोपटक भएको उहाँको दाबी छ । ‘राजेन्द्र लिंदेनको नेतृत्वले यो माहौल बनाएको हो । र, पार्टीको स्वरुप पनि अब चाँडै फेरिने निश्चित छ ।’ उहाँले भन्नुभयाे ।

गुरुङले राप्रपाका उम्मेदवारहरुलाई चुनाव जित्नका लागि अन्य दलका उम्मेदवारहरुलाई गालीगलौज नगर्न पनि सुझाव दिनभयाे । ‘हामीले हाम्रो एजेन्डाले जनताको मन जित्ने हो । र, चुनाव पनि त्यहि जनमतले जिताउने हो । हामी धार्मिक पार्टी हौँ र हामीले कसैलाई गाली गरेर आफुलाई चोख्याउने काम गर्नुहुँदैन ।’ गुरुङले भन्नुभयाे–‘जनतामाझ गएर जबरजस्ती आफ्ना धारणा मात्रै नसुनाउनुहोस् । बरु सकेसम्म जनताको कुरा सुन्ने गर्नुहोस् ।’ उहाँले जनताले राजनीतिक विकल्प खोजेकोले त्यो विकल्प राप्रपा बन्नुपर्नेमा जोड दिनुभयाे । कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, केन्द्रीय सदस्य डा. महेन्द्रबहादुर केसी, राप्रपा नेता जयलाल पुन, जिल्ला अध्यक्ष नारायण गुरुङ लगाएतले बोल्नुभएकाे थियाे ।

राप्रपाले आसन्न निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवारको रुपमा अगाडि सारेको छ । पार्टीले देशभरीका स्थानीय तहमा कुल १२ हजार ४ सय ३७ जना उम्मेदवारलाई उठाएको छ ।

राप्रपामा ४४ जनाको प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टीमा शुक्रबार एकैदिन ४४ जनाले पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि उनीहरुले राप्रपामार्फत आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउने निर्णय लिएका हुन् । विश्व हिन्दु महासंघका पुर्व कास्की जिल्ला अध्यक्ष पार्वता पौडेल, विश्व हिन्दु महासंघ कास्कीका साँस्कृतिक विभाग प्रमुख उषा माता,मनबहादुर विश्वकर्मा, सामाजिक अभियन्ता पुन्य पौडेल लगाएत ४४ जना राप्रपामा प्रवेश गरेको पार्टीले जनाएको छ ।

पार्टी प्रवेश गर्ने मध्ये पार्वता पौडेल काँग्रेस परित्याग गरि राप्रपा प्रवेश गर्नुभएकाे हाे भने मनबहादुर विश्वकर्मा नेकपा एमाले त्यागेर पार्टीमा प्रवेश गर्नुभएकाे हाे । पछिल्लो समय राप्रपामा दैनिक पार्टी प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको पार्टीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका