मतदाता भेट्न घरदैलोमा कास्की मादी गाउँपालिकाका एमाले उम्मेद्वार • Nepal's Trusted Digital Newspaperमतदाता भेट्न घरदैलोमा कास्की मादी गाउँपालिकाका एमाले उम्मेद्वार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मतदाता भेट्न घरदैलोमा कास्की मादी गाउँपालिकाका एमाले उम्मेद्वार

मतदाता भेट्न घरदैलोमा कास्की मादी गाउँपालिकाका एमाले उम्मेद्वार

  • समाचारपाटी
  • शनिबार, बैशाख १७, २०७९
मतदाता भेट्न घरदैलोमा कास्की मादी गाउँपालिकाका एमाले उम्मेद्वार

पोखरा । कास्कीको मादी गाउँपालिकामा नेकपा एमाले ले चुनावी घरदैलो अभियान सुरु गरेको छ । मादी–३ कुस्कु डाँडाबाट एमालेले घरदैलो अभियान सुरु गरेको हो ।

मादी ३ याङ्जाकोट, मादी ४ घामलुङ (सृष्टि टोल)का वस्तीमा शुक्रबार घरदैलो गरिएको एमाले पालिका कमिटी सचिव सुवास सापकोटाले जानकारी दिनुभयाे । गाउँपालिका अध्यक्ष उम्मेद्वार, शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, वडाध्यक्ष र वडा सदस्य उम्मेद्वारसहित एमालेका स्थानीय नेता–कार्यकर्ता घरघरै मत माग्न पुग्नुभएकाे हाे ।

कुस्कु डाँडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेद्वार महेन्द्र गुरुङले सुखी नेपाली, समृद्ध नेपालको नारालाई पुरा गर्न आफू नेतृत्वको टोली सक्षम रहेको बताउनुभयाे । हालको पालिका सरकारले सुरु गरेको कामलाई पुरा गर्ने उहाँको प्रतिबद्धता छ । ‘हिजो गाउँका गोरेटो बाटोमा भिरपाखामा लडेर हिँड्नुभयो ।

आज त्यहाँ मोटर बाटो खोलिएको छ । त्यो बाटोलाई स्तरोन्नति गर्छु,’ उहाँले भन्नुभयाे । आफूले खेलकुद विकास समितिमा बसेर काम गरेको बताउँदै उहाँले खेलकुद पूर्वाधार विकास पनि आफ्नो प्राथमिकता भएको सुनाउनुभयाे । मादीमा ४० लाख रुपैयाँ लागतमा रंगशाला बनाउन बजेट छुट्याए पनि प्रदेश सरकार फेरिएसँगै बजेट काटिएको उहाँको भनाइ थियो ।

उहाँले कृषिमा परम्परागत शैली नभई नयाँ प्रविधिको प्रयोग गर्ने बताउनुभयाे । ‘हामी वर्षमा तीन खेती मकै, कोदो र धान लगाउँछौँ । यहाँको माटोको परीक्षण गरेर वर्षमा हुन सक्ने खेती अध्ययन गर्छौँ,’ अध्यक्ष उम्मेद्वार गुरुङले भन्नुभयाे, ‘वर्षमा पाँच थरी खेती गर्न सकिने गरी
हाइब्रिड बिरुवा दिन्छौँ । यसले आम्दानी पनि हुन्छ ।’

उपाध्यक्ष उम्मेद्वार कल्पनाले आफूहरु भोट माग्नमात्रै नभई जितेर गएपछि पनि जनताको समस्या बुझ्न वस्तीवस्ती आउने बताउनुभयाे । पालिका ठूलो भएको र पिछ्डिएका वडा र वर्गलाई प्राथमिकता दिने उहाँले प्रतिबद्धता जनाउनुभयाे । गाउँपालिका अध्यक्ष वेदप्रसाद गुरुङले असहज परिस्थितिमा पनि आफूले गरेको काम जनताले मूल्यांकन गरेकाले फेरि एमालेले जित्ने दाबी गर्नुभयाे । कोरोना महामारीले गर्दा पुरा गर्न खोजेका काम हुन नसकेकोमा माफी माग्नुभयाे । ‘म नेतृत्वको टिमको दुई वर्ष कोरोना महामारीले असहज भयो । अहिले युवा जोस गाउँपालिका हाँक्न आएको छ । यो जोसमा अझ उत्साह थप्नपर्छ,’ गुरुङले भन्नुभयाे ।

मादी ३ का वडाध्यक्ष उम्मेद्वार जेमप्रसाद गुरुङले खानेपानी पुग्न बाँकी रहेका घरघरमा पानी पुर्याउने वाचा गर्नुभयाे । त्यस्तै पालिकाभित्रका मूल सडक कालोपत्रे गर्न पहल गर्ने बताउनुभयाे । ‘पहिला थोरै मतले हाम्रो वडामा  एमाले पछि पर्यो । यसपटक जित्ने गरी लागेका छौँ,’ उहाँले भन्नुभयाे, ‘ हाम्रो नेतृत्व नहुँदा वडामा स्थानीयले खोजेजस्तो काम हुन सकेन । एकपटक अवसर पाए काम गरेर देखाउँछौँ ।’ शनिबार मादी ९ मा घरदैलो अभियान गरिने पार्टी पालिका कमिटीले जनाएको छ ।

ghar dailo madi gaupalika

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका