काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको दाबी गर्नुभएकाे छ ।
एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताउनुभयाे ।
एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको उहाँले दाबी गर्नुभएकाे छ ।
‘३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह बोक्ने पार्टीको विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो,’ नेपालले भन्नुभयाे, ‘प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरुसँग ।’
अध्यक्ष नेपालले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयाे । गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्नेमा उहाँले जोड दिनुभयाे ।
‘उम्मेदवारीको बारेमा तलमाथि भएको होला कतिपय ठाउँहरुमा । हाम्रा दुखेसाहरु होलान् । आलोचना पनि होलान हाम्रा गठबन्धनका अन्य पार्टीहरुप्रति,’ उहाँले भन्नुभयाे, ‘त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला । त्यस्तो गर्न हुँदैन पनि भनाैँला । अहंकार नराख्नुपर्ने हो पनि भनौँला । वस्तुनिष्ठ भएर चल्नुपर्दछ भन्ने हामी पनि भनौँला । अरुले पनि भन्लान ।’
उहाँले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परिक्षण भइसकेको पार्टी दाबी गर्नुभयाे । अध्यक्ष नेपालले पार्टीको संगठनलाई टोल–टोलसम्म बिस्तार गर्न पनि नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयाे ।
source:-onlinekhabar