कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा कम्युनिष्ट पार्टीहरुको चर्को आलोचना • Nepal's Trusted Digital Newspaperकांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा कम्युनिष्ट पार्टीहरुको चर्को आलोचना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा कम्युनिष्ट पार्टीहरुको चर्को आलोचना

कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा कम्युनिष्ट पार्टीहरुको चर्को आलोचना

  • समाचारपाटी
  • आइतवार, बैशाख ११, २०७९
कांग्रेसले  सार्वजनिक गरेको घोषणापत्रमा कम्युनिष्ट पार्टीहरुको चर्को आलोचना

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रमा कम्युनिष्ट पार्टीहरुको चर्को आलोचना गरेको छ ।

कम्युनिष्ट पार्टीको आलोचना गर्न घोषणापत्रको १४ पृष्ठ खर्चिएको कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘जनउत्तेजनाको व्यापारी’को संज्ञा दिएको छ । अभूतपूर्व राजनीतिक परिवर्तनपछि जनताले गरेको विश्वासलाई धोका दिँदै कम्युनिष्टहरुले ‘सुनौलो अवसर’ खेर फालेको कांग्रसको निष्कर्ष छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसद विघटन गर्नुलाई कांग्रेसले लोकतान्त्रिक व्यवस्थामाथि ‘सुनियोजित आक्रमण’ भनेको छ ।

कांग्रेसले चुनावी घोषणपत्रमार्फत कम्युनिष्टले बितेको पाँच वर्षलाई खेर फालेको र जनताको विश्वासमाथि घात गरेको भन्ने सन्देश दिन खोजेको छ । ‘नेपाल कम्युनिष्ट पार्टीले सत्ता र शक्तिको केन्द्रीकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो,’ घोषणापत्रमा उल्लेख छ ।

कम्युनिष्टकै कारण नागरिकको राजनीतिक स्थिरताको आशामाथि धोका भएको र मुलुक झन् भयंकर अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिम समेत बढाएको कांग्रेसको निष्कर्ष छ ।

घोषणापत्रमा भनिएको छ, ‘जनउत्तेजनाको व्यापार गरी राजनीति गर्ने शक्तिहरूको सबैभन्दा ठूलो हतियार अतिवादी एजेण्डा र भ्रामक ‘अद्वितीय विकास’ हो । प्रधानमन्त्री ओली नेतृत्वको सरकार त्यसको अपवाद नरहनु स्वभाविक थियो ।’

एमाले अध्यक्ष ओलीले विकासको नाममा ‘प्रोपोगाण्डा’ गरेको कांग्रेसको निष्कर्ष छ । ‘नेपालको समृद्धि नै हिमालमा चल्ने चुच्चे रेल र खोलानालामा तैरिने भीमकाय पानीजहाजमा चढेर आउँछ भन्ने उहाँको भ्रान्तिपूर्ण विचारको झिनो आलोचनालाई समेत ‘विकास विरोधी’को संज्ञा दिइयो,’ घोषणापत्रमा भनिएको छ ।

ओलीले ‘गिनिज बुकको आधा त हामीले गरेका कामले भरिन्छ’ भनेर भाषण गर्ने तर क्षणिक राजनीतिक लाभका लागि स्रोत–साधनको कुनै तयारी बिना नै शिलान्यास गरेर जनताको आँखामा छारो हाल्ने काम मात्रै गरेको कांग्रेसको आरोप छ ।

घाेषणापत्रकाे पूरा  पाठ हेर्न तल लिङ्क खाेल्नुहाेला गर्नुहाेला

https://drive.google.com/file/d/1Xxpl_nt8myixJq_TDq4SwKBaJTUBq0cC/view

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका