एक वर्षमा कति प्रयोग भयो नेपालमा सूर्ती ? • Nepal's Trusted Digital Newspaperएक वर्षमा कति प्रयोग भयो नेपालमा सूर्ती ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एक वर्षमा कति प्रयोग भयो नेपालमा सूर्ती ?

एक वर्षमा कति प्रयोग भयो नेपालमा सूर्ती ?

  • समाचारपाटी
  • आइतवार, बैशाख ११, २०७९
एक वर्षमा कति प्रयोग भयो नेपालमा सूर्ती ?

नेपालमा वार्षिक २७ हजारजनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो ।

यसैगरी, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ । यो डरलाग्दो तथ्यांक तपाईँ हाम्रासामु उपलब्ध छ ।

भन्सार विभागको विवरणानुसार चालु आवको गएको चैत मसान्तसम्म नेपालीले १८ लाख सात हजार ८७१ केजीबराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थ खपत गरेको पाइएको छ । त्यो पनि देशभित्र उत्पादित सुर्ती तथा सुर्तीजन्य सामग्री होइन, विदेशबाट आयात गरेर गरिएको सेवनका कारण दुईवटा नोक्सानी एकैपटक भइरहेको छ । असाध्यै दुःख गरेर जम्मा गरिएको विदेशी मुद्रा सुर्ती खरिदका लागि विदेशिएको छ भने हरेक दिन नेपाली अस्वस्थ भएका छन् । क्यान्सरजन्य रोगको सिकार भएका छन् ।
सरकारकै एक निकायले उपलब्ध गराएको एक विवरणानुसार चालु आवको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा जनचेतना बढेको, सरकारले नागरिकलाई सचेत गराएको भन्नेजस्ता विवरण सार्वजनिक भएको भए पनि सुर्ती तथा सुर्तीजन्य पदार्थको आयातमा कमी आउन सकेको छैन ।

विभागको विवरणानुसार आयात मूल्यका आधारमा ५५ करोड ३४ लाख ७४ हजार रुपैयाँबराबरको सुर्ती, सुर्तीजन्य सामग्रीको आयात गरेको देखिन्छ । सरकारको राजस्वमा योगदान हुने देखिए पनि मानव स्वास्थ्यमा असाध्यै ठूलो प्रतिकूल प्रभाव पार्ने सुर्तीजन्य सामग्री झन्डै आधा अर्बबराबरको आयात हुनुले अवस्था गम्भीर बन्दै गएको देखाउँछ ।

भन्सार विभागका अनुसार दुई हजार १६० किलो जर्दा, चपाउने सुर्ती तथा सुर्ती मिसिएका सामग्री आयात भएको छ । त्यस्तै, प्याकिङ गरिएको सुर्ती ८५३ किलो, चुरोट तथा बिडी २३ हजार ३२ किलो, वाटरपाइप टोबाको १८४ किलो, काटिएको सुर्ती १६ लाख ६५ हजार ४९५ केजी, हुक्का फ्लेवर ९१ हजार ६६२ किलो र अन्य सुर्ती २७ हजार ५२८ किलो आयात भएको छ ।

यस्तै, चुरोट (फिल्टर नभएको) १० लाख (एसटीके), चुरोट फिल्टर (७५ एमएम) ८२ लाख, चुरोट फिल्टर (८५ एमएम) १६ लाख ८० हजार (एसटीके)बराबर आयात भएको छ । सरकारले सुर्ती तथा सुर्तीजन्य पदार्थबाट एक अर्ब २६ करोड ४७ लाख ४७ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

इलेक्ट्रिक सिगरेट मात्रै दुई लाख ९५ हजार ५५२ वटा आयात भएको छ । त्यसको लागत शुल्क एक करोड ३३ लाख २९ हजार रुपैयाँबराबर छ । सरकारले राजस्वबाट ८३ लाख संकलन गरेको छ ।

देशभित्रै खेती गर्न सकिने सुर्ती पनि विदेशबाट आयात गरेर ठूलो धनराशि विदेश पठाइएको भन्दै आलोचना हुने गरेको भए पनि रोकिएको छैन । देशभित्र उत्पादन हुने सुर्तीको तथ्यांक त अझै प्रणालीमा देखिएको छैन । के कति मात्रामा खपत हुन्छ भन्ने कुनै विवरण भेटिँदैन । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने क्यान्सर, मुटु, मधुमेह र दीर्घ श्वासप्रश्वासजस्ता रोग लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ ।

सार्वजनिकस्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवै सजाय हुन सक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार, सूचना सम्प्रेषण वा प्रयोजन गर्न नपाइने यदि गरेमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान पनि छ ।

त्यस्तै, १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने, त्यस्तो गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइनेलगायत आठवटा प्रावधान पनि कानुनमा उल्लेख छ ।

तीन लाख ३८ हजार स्मार्ट वाच आयात
विभागका अनुसार चालु आवको चैत मसान्तसम्म तीन लाख ४० हजार स्मार्ट वाच आयात भएको देखिएको छ । विभागले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार अमेरिकी डलर तिरेर तीन लाख ३८ हजार ९१८ स्मार्ट वाच आयात भएको देखिन्छ ।

ती स्मार्ट वाच आयात गर्दा आयात मूल्य मात्रै ४८ करोड ५८ लाख १५ हजार रुपैयाँबराबर छ । त्यसबाट सरकारले राजस्व १५ करोड ३९ लाख ४७ हजार रुपैयाँबराबर संकलन गरेको छ ।

६० हजार इन्डक्सन आयात
सरकारले विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्यका साथ विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरेपछि चैत मसान्तसम्म कुल ५९ हजार ७०६ वटा विद्युतीय चुल्हो आयात भएका छन् । ती इन्डक्सनको लागत मूल्य १२ करोड ३७ लाख २६ हजार रुपैयाँबराबर छ । ती चुल्हो आयात गर्दा सरकारले एक करोड ७५ लाख १३ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

त्यस्तै, जुनसुकै भाँडा प्रयोग गर्न सकिने इन्फ्यारेड चुल्हो २१ हजार ६७६ वटा आयात भएको छ । ती चुल्होको आयात मूल्य चार करोड ६८ लाख १४ हजार रुपैयाँ छ । त्यस्तै, सरकारले ६६ लाख १५ हजार रुपैयाँबराबर भन्सार शुल्क संकलन गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका