साच्चै ! ''मेरो श्रीनगर'' (कविता) • Nepal's Trusted Digital Newspaperसाच्चै ! ''मेरो श्रीनगर'' (कविता) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • साच्चै ! ”मेरो श्रीनगर” (कविता)

साच्चै ! ”मेरो श्रीनगर” (कविता)

  • समाचारपाटी
  • आइतवार, बैशाख ११, २०७९
साच्चै ! ”मेरो श्रीनगर” (कविता)

समर हुम्ली (कर्णबहादुर रोकाया)

बिहानीको सुनौलो किरणसँग झुल्कने
हिउँको आभासँग टल्कने
निर्मल गंगासँग छल्कने
कर्नाली नदीको
पश्चिमोत्तर पाटोमा अवस्थित
स्थाननामको एक बिन्दु
साच्चै ! मेरो श्रीनगर

सांस्कृतिक सामाजिक
तथा राजनीतिक विविधताको स्थल
हुम्लाको खोजी योग्य ठाउँ
स्मरणीय गाउँ
विशेष सन्दर्भको नाउँ
र त–एकतामा विविधता छ ।
विविधतामा एकता छ ।
प्रगतिशिलताको बीउ रोप्ने,
वैमनस्यताको दाउ छोप्ने,
काख र पाखालाई पटक पटक दोग्ने
साच्चै ! मेरो श्रीनगर !

अनौठो ठाउँ
पानी र पानीको खोजीमा छ
महिनौंसम्म गाग्री र हुँणाहरू भरेर
खेत, पाखो र कुरिल्लाहरूमा बीउ छरेर
मुलमुलेसा र धाराहरूमा लामबद्ध छन् आशा र उल्लासहरू
अझै पनि सामन्ती संस्कारले जेलेको छ ।
राजनैतिक कटुताले पेलेको छ ।
शब्दकोशभरीका गाउँहरूले
“खश खशिया, बाह्र रशिया” भन्ने
उक्तिलाई जेलेको छ ।
र त–“आ–आफ्ना थलीका बडा बडा बा” को बगाल छ।
ओहो त्यो ? अदानुचुलीको शीर
कवाडीको तीर
स्वादिष्ट भैंसीको खिर
साँच्चै ! मेरो श्रीनगर

विकासे ठालुको हुल छ ।
विकासको नाममा पुरानो काठेपुल छ ।
घरभन्नु नै ठूला रुखहरूको झुल छ ।
के छैन यहाँ सबथोक छ ?
के छ यहाँ भुटीभाङ्ग छ ?
त्यसैले त– राई ढुङ्गाले खोज्दै छ इतिहास
सम्पदाले खोज्दैछ अवसर
जनशक्तिले खोज्दै छ रोजगार
साँच्चै ! मेरो श्रीनगर

विकास भन्नु भुँडी पुराण
निकास भन्नु जुँडी पुराण
सम्भावना भन्नु झोले पुराण
यहाँ– नेता र नेतृत्व जन्मे जन्माए पनि
जनप्रीय नेता हुन सकेनन् किन ?
जो जो भए नेता उही अङ्गुलीमाल
रिस, राग, वैमनस्य र कलुषित भावको
शदीयौंदेखि साक्षी छ त्यो मदानदेव
अब त– सडक आयो धुलो धुँवा सररर
विकास आयो भ्रष्टचार फररर
जनताका दुःख आँखामा आँसु बररर
अझै पनि आशा छ सुन्दर भविष्यको
लालीगुराँस फुल्ने, पैँयुको फल फल्ने
शुद्ध कर्नालीको पानीमा माछा झुल्ने
साँच्चै ! मेरो श्रीनगर

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका