काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी समूहहरुबीच ध्रुवीकरण सुरु भएको दाबी गर्नुभए काे छ।
शुक्रबार कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वमाओवादीहरु मूल घरमै फर्किने अभियान सुरु भएको जिकिर गर्नुभयाे।
‘फेरि एक चोटी माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्ण ध्रुवीकरण सुरु भएको छ,’ उहाँले भन्नुभयाे, ‘दिन दिनैजसो सयौं संख्यात्मक मात्रै होइन, हिजो अलग भएका माओवादीहरु फेरि माओवादी केन्द्रको मूल घरमा, मूल नेतृत्वमा जोडिने निकै ठूलो प्रक्रिया सुरु भएको छ। यो क्रम पूर्वदेखि पश्चिमसम्म व्यापक रुपमा अगाडि बढेको छ ।’
प्रचण्डले विभाजित भएको पूर्वमाओवादी समूहमा विभाजनको औचित्य पुष्टि गर्न नसकिएको बारे बहस सुरु भएको समेत बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘हिजो विभाजित भएर गएका कतिपय माओवादी समूहभित्र विभाजनको औचित्य पुष्टि गर्न सकिएन, हामीले माओवादी केन्द्रलाई गाली गर्नु गलत भयो । किन गरियो ? आज यही प्रक्रियामा, यही निर्वाचनमा, यही शान्तिपूर्ण राजनीतिमा जानुपर्ने बाध्यता हो भने किन माओवादी र प्रचण्डलाई गाली गरियो भनेर साथीहरुले बडो मार्मिक बहस गर्न थालेको सुनेको छु ।’
प्रचण्डले आफूहरुका लागि फेरि एक चोटी अवसर आएको भन्दै प्रचण्डले सम्पूर्ण माओवादी समूहलाई गाली नगरी एकतामा आउन आग्रहसमेत गरे ।
उहाँले भन्नुभयाे, ‘किन माओवादी केन्द्रलाई गाली गरियो ? किन प्रचण्डलाई गाली गरियो ? हामीले पश्चाताप गर्नुपर्दछ । माओवादी केन्द्रमा जानुपर्दछ । हामी प्रचण्ड भएको ठाउँमा जानुपर्दछ र हामीले गल्ती गर्यौं भन्ने बाँकी साथीहरु भित्रका पनि मैले कुरा सुनि राखेको छु ।’
source:-onlinekhabar