डब्ल्यूएचओका महानिर्देशक नेपालमा स्वास्थ्यका एजेन्डा के कति ? • Nepal's Trusted Digital Newspaperडब्ल्यूएचओका महानिर्देशक नेपालमा स्वास्थ्यका एजेन्डा के कति ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डब्ल्यूएचओका महानिर्देशक नेपालमा स्वास्थ्यका एजेन्डा के कति ?

डब्ल्यूएचओका महानिर्देशक नेपालमा स्वास्थ्यका एजेन्डा के कति ?

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ९, २०७९
डब्ल्यूएचओका महानिर्देशक नेपालमा स्वास्थ्यका एजेन्डा के कति ?

भारत भ्रमण सकेर काठमाडौँ आइपुगेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले तीन दिनको नेपाल बसाइका बेला उठाउनुपर्ने विषयवस्तु तयार पारिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन् । यो अवसरलाई कोरोनाभाइरस महामारी नियन्त्रणमा भएका कामकारबाहीको समीक्षा गर्न पनि उपयोग गरिने उनले बताए ।

सहयोगको समीक्षा
“नेपालको स्वास्थ्य क्षेत्रमा डब्ल्यूएचओको लामो समयदेखि योगदान छ । खोपदेखि लिएर प्राविधिक विषयहरूमा हामीले सहयोग पाएका छौँ । यिनै विषयमा समीक्षा हुनेछ,” खतिवडाले भने । आगामी दिनमा विश्व स्वास्थ्य सङ्गठन र नेपालबीच स्वास्थ्यमा हुन सक्ने साझेदारीका क्षेत्रबारे समेत कुराकानी हुने उनले बताए । कतिपय जनस्वास्थ्य विज्ञहरूले चाहिँ उनको भ्रमणलाई केवल अहिले चाहिएका सरसहयोग माग्नमा मात्र सीमित नगरेर भविष्यका निम्ति आवश्यक विषयबारे पनि सहयोग खोज्न उपयोग गर्नुपर्ने सुझाव दिइरहेका छन् ।

“खासगरी उपचारात्मक विषयहरूको सन्दर्भमा हामीले ग्रामीण भेगका स्वास्थ्यकेन्द्रहरूको स्तरोन्नति अनि अत्याधुनिक सुविधालाई राजधानीबाहिर विस्तार गर्न उसको प्राविधिक सहयोग लिन सक्छौँ,” सङ्क्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जनक कोइरालाले भने ।

कोभिडकै सन्दर्भमा विगतमा नेपाललाई निकै परिमाणमा सघन उपचारका सामग्री, भेन्टिलेटर आदि प्राप्त भएका थिए । “ती सामग्री गाउँगाउँमा पु¥याइएको भनिएको छ। तर तिनलाई चलाउन सक्ने जनशक्ति छैन। यस क्षेत्रमा हामीलाई डब्ल्यूएचओको सहयोग मूल्यवान् हुन सक्छ,” उनले भने ।

खोपमा सहयोग
कोरोनाभाइरस महामारीलगत्तै नेपालले अन्तर्राष्ट्रिय सहयोग सञ्जाल कोभ्याक्समार्फत् ठूलो परिमाणमा खोप सहयोग पाएको थियो । खोप र उपचार प्रणालीजस्ता विषयमा डब्ल्यूएचओले पनि सहजीकरण गर्दै आएको छ । महानिर्देशकको भ्रमणमा कोभिड खोप सहयोगबारे स्वाभाविक रूपमा कुराकानी हुने मन्त्री खतिवडाले जानकारी दिएका छन् । हालसम्म नेपालमा पाँच करोड ३३ लाख मात्रा खोप भित्रिसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । कुल जनसङ्ख्याको दुईतिहाइले पूर्ण मात्रा खोप लगाइसकेको त्यसले देखाएको छ । तर अझै १२ वर्षभन्दा मुनि उमेर समूहलाई खोप दिइएको छैन ।

त्यसको लागि पैसा अपुग भएका जस्ता विवरणका माझ स्वास्थ्यमन्त्री खतिवडाले आगामी जुन महिनामा उक्त समूहका निम्ति खोपको जोहो भइसक्ने बताएका छन् ।

“हामीले खोप सहयोगको खोजी गरिरहेका छौँ । तर आवश्यक परेको खण्डमा हामीसँग पैसा पनि छ र विश्व ब्याङ्कले सहयोग पनि दिन तयार छ,” उनले भने । डा. टेड्रोस नेपाल भ्रमणमा आउने डब्ल्यूएचओका पहिलो महानिर्देशक भने होइनन् । यसअघि सन् २००९ मा क्षेत्रीय कार्यक्रममा भाग लिन तत्कालीन महानिर्देशक मार्गरेट चान नेपाल आएकी थिइन् ।

तीनदिने भ्रमणका क्रममा डा. टेड्रोसले राष्ट्रपति, प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्रीसँग भेटघाट गर्नेछन् । साथै टाइफोइडविरुद्ध जारी खोप अभियानको पनि अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका