चितवन । नेपाल औषधी उत्पादक संघ (एपोन)को आयोजनामा तीन दिने आठौं नेपाल फर्मा एक्स्पो-२०२२ चितवनमा शुक्रबारदेखि सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी एक्स्पोको शुक्रबार दिउँसो उद्घाटन गर्ने कार्यक्रम रहेको छ। एक्स्पो बैशाख ११ गतेसम्म चल्ने छ। एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ। एक्स्पोका संयोजक एवं नेपाल औषधी उत्पादक संघका निवर्तमान अध्यक्ष जीनारायण श्रेष्ठका अनुसार, स्वदेशमा भइरहेको औषधी उत्पादनमा प्रयोग भएका प्रविधि एवं औषधी उत्पादनमा अपनाइएका संवेदनशीलताको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो। हरेक दुई-दुई वर्षमा एक्स्पो गरिंदै आएको छ। कोरोना संक्रमणको जोखिमका कारण गत फागुनमा गर्ने भनिएको एक्स्पो स्थगित गरिएको थियो। एक्स्पोबाट नेपालको औषधी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधिमैत्री र दक्षता अभिवृद्धि गर्नुका साथै औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नविनतम प्राविधिक ज्ञान दिने अपेक्षा गरिएको उहाँले बताउनुभयाे।
नेपाल औषधी उत्पादक संघका उपाध्यक्ष एवं नेपाल फर्मा एक्स्पो-२०२२ का मिडिया को-अर्डिर्नेटर एवं सन्तोष बरालका अनुसार, एक्स्पोमा राष्ट्रिय र बहुराष्ट्रिय गरी १ सय ६० वटा स्टल रहेका छन्। जसमध्ये १ सय २० वटा बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधी उद्योग छन्। भारत, बंगलादेश, चीन र भारतीय औषधी उत्पादक कम्पनीका प्रतिनिधिसमेत एक्स्पोमा सहभागी छन्। १५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ।
मुलुकमा वार्षिक झण्डै ९५ अर्बको औषधी कारोबार हुने संघले जनाएको छ। त्यसमा ४५ प्रतिशतभन्दा बढी स्वदेशी उत्पादनको हिस्सा रहेको छ। अहिले नेपाली औषधी उद्योगमा ६० अर्बभन्दा बढी लगानी रहेको छ। शुक्रबार बिहान भएको प्रभातफेरि कार्यक्रममा औषधी उत्पादक व्यवसायी, प्राविधिक, फर्मासिस्ट सहभागी थिए।
source:annapurna