के का आधारमा आउँछ विदेशी मुद्रा नेपालमा ? • Nepal's Trusted Digital Newspaperके का आधारमा आउँछ विदेशी मुद्रा नेपालमा ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • के का आधारमा आउँछ विदेशी मुद्रा नेपालमा ?

के का आधारमा आउँछ विदेशी मुद्रा नेपालमा ?

  • समाचारपाटी
  • बिहिबार, बैशाख ८, २०७९
के का आधारमा आउँछ विदेशी मुद्रा नेपालमा ?

 

विदेशी मुद्रा सञ्चिती घट्न थालेसँगै सरकारले बिलासी वस्तुहरूको आयातमा कडाइ गर्न सुरु गरेको विवरणहरू आइरहेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार केन्द्रीय ब्याङ्कसँग हाल ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चित छ जुन ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अधिकारीहरू बताउँछन् । २०७८ असार मसान्तको तुलनामा यो १७ प्रतिशतको गिरावट हो । पछिल्लो मौद्रिक नीतिमा कम्तीमा सात महिनाको आयात धान्न सक्ने अवस्थालाई सहज मान्न सकिने उल्लेख गरिएको छ ।

हाल सरकारले आफ्नो ढुकुटीमा रहेको विदेशी मुद्रा सकभर देशबाट नबाहिरियोस् भन्ने नीति अघि सारे जस्तो देखिएको जानकारहरू बताउँछन् । तर कतिपयले भने मुद्रा सञ्चिती कायम राख्नका लागि आयातमा कडिकडाउ गर्नुका साथै मुद्रा आर्जन गर्ने विषयमा पनि ध्यान पु¥याउन आवश्यक रहेको टिप्पणी गरिरहेका छन् ।

केन्द्रीय ब्याङ्कले भने चालु आर्थिक वर्षको सात महिनाको अवस्था हेर्दा हालको समस्या विदेशी मुद्रा आर्जनको स्रोतमा ठूलो समस्या उत्पन्न भएका कारणभन्दा पनि आर्जित रकम बाहिरिने क्रम बढेका कारण भएको बताउँछन् । त्यो भनाइलाई तथ्याङ्कले पनि पुष्टि गर्छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनाको तथ्याङ्कका अनुसार रु १३ खर्ब बराबरको आयात भएको केन्द्रीय ब्याङ्कको भनाइ छ । गत आर्थिक वर्षमा कुल आयात रु १५ खर्ब ४० अर्बको बराबरको भएको तथ्याङ्कले देखाउँछ । विदेशी मुद्रा आर्जन गर्ने नेपालका प्रमुख स्रोतहरू के के हुन त ?

विप्रेषण र पर्यटन
नेपाल राष्ट्र बैङ्कका अनुसार नेपालको विदेशी मुद्रा सञ्चितीको एउटा मुख्य आधार भनेको विप्रेषण अर्थात् रेमिट्यान्स हो । नेपालसँग हाल रहेको विदेशी मुद्राको सञ्चितीकै हाराहारीमा पछिल्लो समय रेमिट्यान्स आप्रवाह भइरहेको देखिन्छ ।

केन्द्रीय ब्याङ्कका प्रवक्ता गुणाकर भट्टका अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको झन्डै २२ प्रतिशतमा रेमिट्यान्सको योगदान छ । “त्यो भनेको गत वर्ष रु ९६० अर्ब जति आएको देखिन्छ । त्यस अघिको वर्ष अलि कम थियो,’’ उनले भने । कोभिड महामारीकैबीच पनि गत वर्ष राम्रो रेमिट्यान्स आप्रवाह भएको थियो ।

सामान्य वर्षहरूमा झन्डै रु ८.५ खर्ब देखि रु ९.५ खर्बको हाराहारीमा रेमिट्यान्स आइरहेको अधिकारीहरू बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह झन्डै पाँच प्रतिशतले घटेको देखिन्छ । महामारीकाबीच रेमिट्यान्स आप्रवाह बढ्नुको कारणमा आवागमन बन्द रहेका कारण जिन्सीको साटो नगद नेपाल पठाइनु रहेको आकलन गरिएको भट्ट बताउँछन् ।

’’त्यो हिसाबबाट गत वर्ष चाहिँ केही बढी आप्रवाह देखियो। तर त्यो भन्दा अघिल्लो आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्ने हो भने त्यति बेला रु ५१८ अर्ब रेमिट्यान्स आएको थियो भने यो आर्थिक वर्षको सात महिनामा रु ५४० अर्ब रेमिट्यान्स आएको देखिन्छ। त्यसरी हेर्दा सामान्य वर्षको भन्दा अहिले पनि रेमिट्यान्स कम चाहिँ नआएको अवस्था हो,’’ भट्टले भने ।

नेपाल राष्ट्र बैङ्कका अर्का एक जना उच्च अधिकारी भने आयात बढ्दा न्यून बिजकीकरणको समस्या बढ्ने हुँदा हुन्डीबाट रकम कारोबार हुने बताउँछन् ।
त्यस्तै विदेशमा बस्ने कतिपय नेपालीहरूले क्रिप्टोकरेन्सीमा लगानी गरेका कारण पनि केही समस्या परेको केन्द्रीय ब्याङ्कको जानकारीमा आएको भए पनि त्यसबारे यकिन तथ्याङ्क भने प्राप्त नभएको उनको भनाइ छ । नेपालको विदेशी मुद्रा आर्जन गर्ने अर्को मुख्य स्रोतमा पर्यटन पनि पर्छ। नेपाल घुम्न आएका विदेशीहरूले डलर वा अन्य विदेशी मुद्रा नेपालमा सटही गर्ने गर्छन् । तर कोभिड महामारी सुरु भएसँगै पर्यटन क्षेत्र प्रभावित छ जसको प्रभाव विदेशी मुद्रा सञ्चितमा पनि परेको छ ।

निर्यात
नेपालले अन्य देशबाट सामग्री खरिद गर्दा डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसै कारण हाल सरकारले विलासिताका बस्तु आयातमा कडिकडाउ गर्ने नीति लिएको देखिन्छ । त्यस्तै सामाग्री निर्यात गर्दा भने नेपालले विदेशी मुद्रा आर्जन गर्छ । तर आयात र निर्यातमा सन्तुलन मिल्न नसक्दा नेपालले यसबाट लाभ उठाउन सकेको छैन । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा रु १३ खर्ब ९ अर्ब बराबरको आयात भएको छ भने रु १४७ अर्ब बराबरको मात्रै निर्यात भएको छ ।

’’त्यसैले हाम्रो निर्यातको आधार साँगुरो छ तथापि त्यो पनि विदेशी मुद्रा आर्जन गर्ने एउटा स्रोत हो,’’ भट्टले भने ।

प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक ऋण र निवृत्तिभरण
केन्द्रीय ब्याङ्कका अधिकारीहरूका अनुसार चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था भने त्यति नराम्रो अवस्था छैन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा झन्डै रु १६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।

’’त्यो अघिल्ला वर्षको तुलनामा राम्रै हो । तर आफैमा ठूलो रकम भने होइन,’’ भट्टले भने। त्यस्तै विदेशी मुद्रा सञ्चितको अर्को प्रमुख स्रोत वैदेशिक अनुदान वा ऋण पनि हो । तर त्यो अनुदान वा ऋणको उपभोगमा नेपाल प्रभावकारी हुन नसकेका कारण त्यसको लाभ उठाउन नसकिएको केन्द्रीय ब्याङ्कका अधिकारीहरू बताउँछन् । केन्द्रीय ब्याङ्कका अनुसार निवृत्तिभरण अर्थात् पेन्सन पनि नेपालको विदेशी मुद्रा सञ्चितको मुख्य स्रोत मध्य एक हो ।

त्यसमा ब्रिटिश गोर्खा र भारतीय सेनामा काम गरेका मानिसका साथै कतिपय अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्नेहरूले प्राप्त गर्ने पेन्सन पर्ने अधिकारीहरू बताउँछन् । तर यो रकममा पछिल्लो समय समस्या परेको भने देखिँदैन ।

अवस्था परिवर्तन गर्न के गर्नुपर्छ ?
केन्द्रीय ब्याङ्कका अनुसार मुलुकमा विदेशी सञ्चितीको अवस्था स्थिर राख्नका लागि उत्पादन क्षेत्रलाई बढावा दिनुपर्छ । त्यस्तै कृषि र सेवा क्षेत्रलाई पनि विकास गर्न जरुरी रहेको भट्ट बताउँछन् । गत आर्थिक वर्षमा नेपालले ५० अर्बको चामल आयात गरेको बताइएको छ भने यो आर्थिक वर्षको पहिलो ८ महिनामा चामल आयातमा ३७ अर्ब खर्च भइसकेको छ । त्यस्तै तरकारी आयातमा चालु आबको पहिलो ८ महिनामा रु २७ अर्ब र रु १६ अर्ब फलफूल आयातमा खर्च भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका