को हुन पाकिस्तानका नयाँ प्रधानमन्त्री ? • Nepal's Trusted Digital Newspaperको हुन पाकिस्तानका नयाँ प्रधानमन्त्री ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • को हुन पाकिस्तानका नयाँ प्रधानमन्त्री ?

को हुन पाकिस्तानका नयाँ प्रधानमन्त्री ?

  • समाचारपाटी
  • आइतवार, बैशाख ४, २०७९
को हुन पाकिस्तानका नयाँ प्रधानमन्त्री ?

 

पाकिस्तानको राजनीतिक इतिहासले पुनः बाटो परिवर्तन गरेको छ । इमरान खान विरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि प्रतिपक्षी मुस्लिम लीगका प्रमुख शहबाज शरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । शहबाज यसअघि तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका राजनीतिज्ञ नवाज शरिफका भाइ हुन् ।

पानामा पेपर्समा भएको आर्थिक खुलासासँगै भ्रष्ट्राचारको अभियोग लागेपछि नवाजलाई सन् २०१८ मा तेस्रो पटक त्यहाँको सरकारबाट हटाइएको थियो ।
पाकिस्तानको संसद्को तल्लो सदनमा तीन वर्षयता विपक्षी दलका नेता रहेका शहबाज निवर्तमान प्रधानमन्त्री इमरान खानका खरो आलोचकमध्ये एक हुन् ।

गैरकानुनी सम्पत्तिको आरोप
सात करोड ६० लाख अमेरिकी डलर बराबर गैरकानुनी सम्पत्ति राखेको विषयमा पाकिस्तानको भ्रष्ट्राचार विरोधी निकाय न्याश्नल अकाउन्टिबिलिटी ब्यूरोले उनलाई सन् २०२० को सेप्टेम्बरमा पक्राउ गरेको थियो ।

उक्त निकायको अनुसन्धानले शहबाजका २८ वटा नक्कली खाताहरू रहेको दाबी गरिएको थियो। जसबाट सन् २००८ र २०१८ को बीचमा उक्त रकम शुद्धीकरण गरिएको आरोप लगाइयो ।

उक्त अनुसन्धानले ब्याङ्कबाट पैसा निकालिएका १७,००० वटा कारोबारको अध्ययन गर्दै उक्त रकम लुकाइएका खाताहरूमा राखिएको र शहबाजलाई व्यक्तिगत रूपमा दिइएको दाबी गरेको थियो ।

उनी अहिले धरौटीमा रिहा भएका हुन् तर उनले सम्पत्ति शुद्धीकरणसहित आयस्रोत बारेको मुद्दा पनि खेपिरहेका छन् । पहिलो पटक सङ्घीय सरकारको नेतृत्व गर्न लागेका ७० वर्षीय पाकिस्तानी प्रधानमन्त्रीसँग यसअघि प्रान्तीय मुख्यमन्त्रीको अनुभव छ । उनी तीन कार्यकाल र १३ वर्ष मुख्यमन्त्री भएको पन्जाब देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको र राजनीतिक रूपमा महत्त्वपूर्ण प्रान्त हो ।

पन्जाबको मुख्यमन्त्री रहँदा उनले कहिले भावनात्मक उत्तेजना र कहिले कार्यशैलीका कारण राजनीतिक विपक्षी, सञ्चारमाध्यम र जनताको ध्यान तानिरहन्थे । उनी र उनको टोली कहिले बाढीमा गमबुट लगाएर उभियो, कहिले सरकारी निकायहरूमा अकस्मात् छापा मार्न पुग्यो । उनका आलोचक र विरोधीहरूले यो सबै देखाउनका लागि गरिरहेको भन्दै आलोचना गर्ने गरेका थिए । उनीसँग कहिल्यै नछुट्ने सञ्चारमाध्यमले यसको पुष्टि गर्थे ।

तर शहबाजसँग काम गरेका सरकारी अधिकारीहरू र पत्रकारहरू उनी यस्ता क्षणहरूमा “कठिन मेहनत गर्ने प्रशासक“को रूपमा प्रस्तुत हुने गरेको बताउँछन् । उनी कसरी चर्चित भए र उनले मुख्य मन्त्रीबाट प्रधानमन्त्रीको कुर्सीसम्मको लामो यात्रा कसरी तय गरे ?

व्यापारबाट राजनीतिमा
लाहोरका वरिष्ठ पत्रकार सलमान गनीले शरिफ परिवार र उनीहरूको दलबारे लामो समयदेखि समाचार लेखिरहेका छन् । उनले शहबाज सन् १९८५ मा लाहोरको वाणिज्य सङ्घ चेम्बर अफ कमर्सको अध्यक्ष भएको बताए ।

“मलाई सम्झना छ कि उनीहरू त्यो समयमा सामान्य कारमा चढ्थे । उनीहरूले पार्टीका कार्यकर्ताहरूलाई सामान पु¥याउन पनि त्यही कार प्रयोग गर्थे,“ उनी भन्छन् । सलमान गनीका अनुसार दाजु नवाज शरिफ र उनको दललाई राजनीतिमा प्रवर्द्धन गर्न शहबाजले महत्त्वपूर्ण भूमिका खेलेका थिए । दाजुलाई सघाउँदै आएका शहबाज आफू पनि राजनीतिमा समावेश हुने निर्णय गरे र सन् १९८८ को पन्जाबको प्रान्तीय संसद्मा सदस्य भए ।

उनी सन् १९९० र सन् १९९३ मा पुन निर्वाचित भए । सन् १९९३ मा उनी प्रान्तीय सभामा प्रतिपक्षी दलको नेता चुनिए ।

’शहबाज प्रधानमन्त्री भए अझै राम्रो’
जब पाकिस्तान मुस्लिम लीग सन् १९९७ को निर्वाचनमा विजयी भयो शहबाज शरिफ पन्जाबको मुख्यमन्त्रीमा पहिलो पटक निर्वाचित भए । वरिष्ठ पत्रकार मुजीब उर रहमान शमीले यो समयको राजनीतिलाई नजिकबाट नियालेका छन् । उनले शहबाज निकै मेहनती रहेको र आफ्नो लक्ष्य प्राप्तिमा दृढ रहेको बताए ।

कुशल प्रशासक समेत रहेका उनले पन्जाबमा निकै प्रभावकारी टोली बनाएर काम गरेका थिए ।

मुख्यमन्त्रीको पहिलो कार्यकालमै उनले प्रान्तमा धेरै परियोजनाको सुरुवात गरे । तर सेना प्रमुख परवेज मुशर्रफले सत्ता हातमा लिएर सैनिक शासन लागु गरेपछि शहबाजले पूरा कार्यकाल पन्जाबको प्रान्तीय सरकार नेतृत्व गर्न पाएनन् । सैन्य कू लगत्तै दुवै जना शरिफ दाजुभाइ पक्राउ परे। त्यसपछि दाइ नवाज शरिफ लामो समय साउदी अरबमा निर्वासनमा बसे ।
शमीका अनुसार उक्त समयमा भएको घटनाक्रममा शहबाजले खेल्न सक्ने कुनै भूमिका थिएन ।

“उनी सैन्य संस्थापनसहित सबै पक्ष मिलेर काम गर्नुपर्छ भनिरहन्थे,“ शमी भन्छन् । शमीका अनुसार एक पटक जनरल मुशर्रफले समेत “उनी (शहबाज) प्रधानमन्त्री भए राम्रो हुने थियो“ भनेका थिए । यद्यपि त्यही समयमा शरिफ परिवारका दुवै दाजुभाइलाई विमान अपहरण र देशद्रोहको मुद्दा लागेको थियो ।

सेनासँग सम्झौता र स्वैच्छिक निर्वासन
सन् २००० मा शरिफ परिवारले निरङ्कुश सैनिक शासक जनरल मुशर्रफसँग एउटा सम्झौता गरे र निर्वासनका लागि साउदी अरब प्रस्थान गरे । शरिफ परिवारले उक्त सम्झौता नभएको दाबी गर्दै आएको छ । शमीका अनुसार नवाज शरिफ र अन्य नेताहरू विरुद्धको मुद्दामा पनि शहबाजमाथि लगाइएका कुनै पनि आरोप पुष्टि भएका थिएनन् ।

“उनीहरू निर्वासनमा जान चाहँदैन थिए । उनीहरू देश बाहिर नजान सक्दो प्रयास गरे,“ शमी भन्छन् ।

“त्यसपछि नवाज र शहबाज पन्जाबका गभर्नरको प्रयासमा साउदी अरबबाट लन्डन पुगे ।”

फर्केर शक्तिमै
सात वर्षपछि सन् २००७ मा जब शरिफ परिवार पाकिस्तान फर्किएको त्यसको अर्को वर्ष आमनिर्वाचन भयो । यो निर्वाचनमा शहबाजले भाग लिन पाएनन् । उनलाई सन् १९९८ मा लाहोरमा भएको एक घटनामा गैरकानुनी हत्याको आरोप लागेको थियो । उनलाई सुरक्षा निकायका व्यक्तिहरूले मुख्यमन्त्रीको हैसियतमा गैरकानुनी हत्याका लागि आदेश दिएको आरोप लगाएका थिए ।

सन् २००३ मा आतङ्कवाद विरुद्धको अदालतले उनी देशबाहिर रहेको समयमा सूचना जारी गरेको थियो । सन् २००४ मा शहबाज अदालतमा उपस्थित हुन पाकिस्तान फर्कन प्रयास समेत गरेका थिए । तर उनलाई विमानस्थलबाटै फर्काइएको थियो। उक्त समय अदालतमा उपस्थित नभएपछि अदालतले उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । शहबाजले उक्त आदेश पुनरावलोकनका लागि निवेदन दिएको दुई महिनाभित्रै अदालतले सफाइ दिएपछि उनको मुख्यमन्त्रीमा पुनर्बहाली भएको थियो । सन् २०१३ को निर्वाचनमा उनको पार्टी विजयी भएपछि शहबाज पन्जाबको मुख्यमन्त्रीमा दोस्रो पटक निर्वाचित भए । अर्को निर्वाचनसँगै तेस्रो पटक मुख्यमन्त्रीको पदमा पुगे ।

आफ्नो कार्यकालको एक दशकमा उने आफूलाई कठोर प्रशासक भएको पुष्टि गरे ।

पूर्वाधार र विकास
शहबाजले शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै परियोजनाहरू मुख्यमन्त्रीको उनको कार्यकालमा पुरा गरेका छन् । तर उनको विरासतसँग जोडिएका दुई वटा परियोजनाहरूको सुरुमा ठूलो आलोचना भएको थियो ।

उनले लाहोरमा ट्राफिक जामको समस्या समाधानका लागि नगर बस सञ्चालनमा ल्याउने योजना अघि सारे । तर तत्कालीन प्रतिपक्षी नेता इमरान खानले यो योजनालाई “जङ्गल बस“ भनेर आलोचना गरे ।

शहबाजले मध्यम आकारको रेल चलाउने योजनामा पनि आलोचना खेप्नुप¥यो । विपक्षी पार्टीले उक्त परियोजना धेरै महँगो हुने भएकाले सरकारले अनुदान दिएर सञ्चालन गर्न कठिन हुने तर्क गरे । आलोचनाबीच सुरु भएको यो परियोजना अहिले पनि सञ्चालनमै छ ।

सत्ताको बागडोरमा
शहबाजले राजनीतिमा नवाजको पछिपछि दोस्रो भूमिका मात्रै निभाए। जब नवाज प्रधानमन्त्री बने शहबाज मुख्यमन्त्री बने । शहबाज लोकप्रिय नभए पनि उनी कुशल व्यवस्थापक रहेको शमी बताउँछन् । उनी अनावश्यक द्वन्द्वबाट टाढै रहन र पाकिस्तानमा सधैँ शक्तिमा रहने सैन्य संस्थापनसँग पनि सुमधुर सम्बन्ध राख्न सिपालु रहेको शमीको दाबी छ ।

पत्रकार सलमान गनी राष्ट्रिय राजनीतिको माहौल पञ्जाबको भन्दा फरक हुने भएकाले शहबाजले धेरै चुनौती खेप्न सक्ने ठान्छन् ।

“सजिलो नहोला तर शहबाज शरिफ ती चुनौतीहरूलाई सामना गर्न सक्षम छन्,“ उनले भने ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका