पाँच नेपाली युवाले लन्डन देखी पेरिससम्म च्यारिटी साइकलयात्रा गर्ने • Nepal's Trusted Digital Newspaperपाँच नेपाली युवाले लन्डन देखी पेरिससम्म च्यारिटी साइकलयात्रा गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पाँच नेपाली युवाले लन्डन देखी पेरिससम्म च्यारिटी साइकलयात्रा गर्ने

पाँच नेपाली युवाले लन्डन देखी पेरिससम्म च्यारिटी साइकलयात्रा गर्ने

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
पाँच नेपाली युवाले लन्डन देखी पेरिससम्म च्यारिटी साइकलयात्रा गर्ने

लन्डन । बेलायतस्थित युवा नेपाली अभियन्ताहरुको एक समूहले लन्डन  पेरिस च्यारिटी साइकलयात्रा गर्ने भएको छ। हेल्प नेपाल नेटवर्क यूके, नेप्लिज युथ एशोसिएसन यूके र वुल्लिच आर्सनल राइडर्स (वार) क्लबआबद्ध पाँच युवाले आगामी मे महिनाको २० देखि २२ तारिखका लागि उक्त यात्रा तय गर्नुभएकाे छ।

हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधान, नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङ, सुलभ पन्त, सुशील प्रसाईं र सुनिल कार्की च्यारिटी साइकलयात्रामा जाँदैहुनुहुन्छ। साइकलयात्रामा लन्डनदेखि पेरिससम्मको जम्मा २ सय ४५ माइलको दूरी पार गरिनेछ।

मे २० तारिख बिहान लन्डन ब्रिजबाट शुभरम्भ हुने यात्रा मे २२ तारिखको दिउँसो पेरिसको आइफेल टावरसम्म पुगेर समापन हुनेछ। साइकलयात्रीहरुले दैनिक ६ देखि ८ घण्टासम्म साइकिलिङ गर्ने योजना बनाउनुभएकाे छ।

च्यारिटी साइकलयात्राबाट संकलित रकम हेल्प नेपाल नेटवर्कले काभ्रेको धुलिखेलमा सञ्चालन गरेको एक बालगृहलाई सहयोग गरिने हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधानले बताउनुभयाे। सन् २०१४ देखि सञ्चालित उक्त गृहमा अहिले २३ जना असहाय बालिकाहरुले आश्रय पाएका उहाँले सुनाउनुभयाे ।

साइकलयात्रीहरुले ५ हजार पाउन्ड (करिब ८ लाख रुपैँया) जुटाउने लक्ष्य लिनुभएकाे छ। जसका लागि ‘जस्टगिभिङ’ मार्फत् सहयोग संकलन सुरु गरिसकिएको छ। बालगृहको सहयोगका लागि गर्न लागिएको च्यारिटी साइकल यात्रामा स्वेच्छिक सहयोग गर्न र आफूहरुको हौसला बढाउन साइकलयात्रीहरुले बेलायतवासी नेपाली र संघसंस्थाहरुसँग आव्हान गर्नुभएकाे छ ।

साइकलयात्राबाट संकलन हुने पूरै रकम बाल गृहलाई प्रदान गरिने बताइएको छ । संकलित रकममा कुनै खर्च नकटाइने र साइकलयात्रीहरुले आफ्नो खर्च आफै व्यहोर्ने स्पष्ट पार्नुभएकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका