भारतले हवाइमार्ग दिन्छ ? • Nepal's Trusted Digital Newspaperभारतले हवाइमार्ग दिन्छ ? • Nepal's Trusted Digital Newspaper

भारतले हवाइमार्ग दिन्छ ?

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
भारतले हवाइमार्ग दिन्छ ?

 

नेपालले माग गर्दै आएको हवाई प्रवेश मार्ग र हवाई उड्डयन क्षेत्रबारे भारत मौन रहँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जेठदेखि सुरु हुने भनिएको व्यवसायिक उडान असहज बन्न सक्नेबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । तर हालै भारत भ्रमणका बेला नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि थप हवाई प्रवेश मार्गबारे कुरा उठाएपछि नयाँ निर्णय हुने प्रतीक्षामा नेपाली अधिकारीहरू देखिन्छन् । थप हवाई मार्गहरू खोल्ने विषयमा दुवै देशका प्राविधिकहरू केही वर्षअघि नै सहमत भएका थिए । तर हालसम्म भारतले नेपाललाई थप हवाई प्रवेश मार्ग उपलब्ध गराएको छैन ।

“यस विषयमा भारतले किचलो गरिरहेको छ । नेपालले कोसिस गरिरहेको छ, नतिजा कस्तो हुन्छ थाहा छैन,“ नागरिक उड्डयन विज्ञ नारायणबहादुर सिंह डंगोलले भने ।

कहाँबाट नेपाल प्रवेश गर्छन् अन्तर्राष्ट्रिय विमान ?
राजनीतिक स्तरमा भएको पछिल्लो पहलले थप मार्ग खुल्ने आशा बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने बताउँछन् ।

“हालसम्म भारत सरकारको सकारात्मक निर्णयको प्रतीक्षामा थियौँ। प्रधानमन्त्रीले पनि यस विषयलाई प्राथमिकतापूर्वक राखेकाले सायद अब भारतले उपयुक्त निर्णय गर्ला,“ लामिछानेले भने ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भारतीय वायु क्षेत्रको सरोकार रहने बताए । साथै यस विषयमा पनि दुई पक्षको समन्वय हुने विश्वास व्यक्त गरे ।

हाल नेपाल आउने अन्तर्राष्ट्रिय जहाजहरू सिमरा क्षेत्रबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन् । चीनतर्फ चाहिँ तुम्लिङ्टार माथिबाट एउटा हवाई प्रवेश मार्ग उपलब्ध छ ।

“सिमरा क्षेत्र नजिकै स्थापित ’रोमियो पोइन्ट’बाट पनि आउँछन्। त्यसबाहेक नेपालले माग गरेको मार्गबारे भारत सहमत भइसकेको छैन,“ विज्ञ डंगोलले भने ।

“यस अवस्थामा तत्कालका लागि सिमरा वा त्यस नजिकको प्वाइन्ट हुँदै आएर भरतपुर माथि घुमेर भैरहवा जानु पर्ने हुन्छ ।”

भारतले मार्ग नदिँदा कस्तो असर पर्छ ?
देउवाले भारतसँग महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेशमार्ग माग गरेका हुन् । कतिपय जानकारहरूले भारतले थप हवाई मार्गहरू उपलब्ध नगराए भैरहवा विमानस्थल सञ्चालनमा कठिनाइ हुनसक्ने बताइरहेका छन् ।

उड्डयन विज्ञ नारायणबहादुर सिंह डंगोलका अनुसार भारतले मार्ग नदिँदा पश्चिमतिरबाट आउने जहाजलाई कहाँबाट भित्र्याउने टुङ्गो नलाग्नु नै मुख्य समस्या हो ।

त्यस्तै छलफलमा सीमित यस विषयले एअरलाइन्स कम्पनीहरूलाई समेत प्रत्यक्ष असर पर्ने ठानिएको छ ।

उनले भने,“विमानले लामो दूरी तय गर्नु परेपछि समस्या सुरु भइहाल्यो। त्यहाँ समयदेखि इन्धनसम्म बढी खपत हुने भयो। खर्च बढ्ने भयो ।”

त्यस्तै उडान अवधि बढ्ना साथ नेपाल नागरिक उड्डयन प्राधिकरणको ’छिटो र छरितो उडान’को उद्देश्य समेत प्रभावित हुने डंगोलले बताए ।

प्रस्तावित हवाई प्रवेश मार्ग खुल्दाको सम्भावाना के ?
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्ण भने भैरहवास्थित विमानस्थल सञ्चालनका लागि हवाई प्रवेश मार्ग अत्यावश्यक नभएको बताउँछन् ।

“त्यहाँबाट उडान गर्दा उडान समय काठमाण्डूबाट भन्दा १२ देखि १५ मिनेट छोटिन्छ। तर हामीलाई हवाई मार्ग खाँचै भएको वा चिन्ताजनक विषय चाहिँ होइन ।”

उनका अनुसार भारतले अन्य हवाई प्रवेश मार्ग दिए उडान खर्च र उडान अवधि घट्नुका साथै हवाई ट्राफिक जामको समस्या सहज हुनेछ ।

त्यस्तै दिल्लीबाट पूर्वी एसियाका देशहरूमा हुने उडान नेपाली आकाशमाथिबाट जाने सम्भावना बढ्ने र त्यसले नेपाललाई केही आर्थिक लाभ पनि हुनसक्ने उड्डयन अधिकारीहरू बताउँछन् ।

मोफसललाई फाइदा र काठमाण्डूको विकल्प
भैरहवाको विमानस्थलबाट हुने व्यावसायिक उडानले विशेषगरी मध्यपूर्वमा जाने नेपाली श्रमिक र लुम्बिनी घुम्न आउने पर्यटकलाई फाइदा पुग्ने जानकारहरू बताउँछन् ।

दुई वर्षअघि सरकारले प्रकाशित गरेको “नेपाल श्रम आप्रवासन प्रतिवेदन“ अनुसार सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा जाने १० जिल्लामध्ये ९ वटा तराईका रहेका छन् ।

त्यस्ता १० जिल्लाबाट कुल वैदेशिक रोजगारीमा जानेमध्ये ४० प्रतिशत तराई जिल्लावासी रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार सबैभन्दा धेरै श्रमिकहरू विदेश जाने जिल्लाहरूमा क्रमशः धनुषा, सिराहा झापा, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, सुनसरी, रुपन्देही, तनहुँ र दाङ पर्छन् ।

तराईका यी जिल्लाहरूबाट वैदेशिक रोजगारीमा जानेहरूलाई उक्त विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँको तुलनामा केही सहज हुने जानकारहरू बताउँछन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका