कास्की फुटबल लिग जारी, मंगलबार सकिए ७ खेल • Nepal's Trusted Digital Newspaperकास्की फुटबल लिग जारी, मंगलबार सकिए ७ खेल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्की फुटबल लिग जारी, मंगलबार सकिए ७ खेल

कास्की फुटबल लिग जारी, मंगलबार सकिए ७ खेल

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
कास्की फुटबल लिग जारी, मंगलबार सकिए ७ खेल

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा आज ७ खेल सम्पन्न भएको छ ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार पोखरा २५ स्थित गौरीशंकर खेलमैदानमा ४ र रङ्गशालाको वैकल्पिक खेलमैदानमा ३ गरी मङगलबार कुल ७ खेल सकिएको हो । रङ्गशाला स्थित वैकल्पिक खेल मैदानमा भएको पहिलो खेलमा सत्य युवा क्लब (बि–१३) ले लेकसाईड क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिनुभयाे ।

उहाँका अनुसार सत्य युवा क्लबको जितमा उपेन गुरुङले १९ र २१ औं मिनेटमा २ गोल गर्नुभयाे भने जिवन तामाङले २३ औं मिनेटमा र प्रशान्त गुरुङले २६ औं मिनेटमा र सन्दिप गुरुङले २८ औं मिनेटमा गोल गर्नुभयाे । उक्त जितसँगै सत्य युवा क्लबले ३ अंक बटुलेको छ ।
यसैगरी दोस्रो खेलमा शितलज्याती युवा क्लबले भदौरे युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्याे । शितलज्योतीको जितमा अभिषेक थापाले छैटौं मिनेट र आठौं मिनेटमा २ गोलको योगदान दिनुभयाे भने । ३४ औं मिनेटमा सहिल गुरुङले १ गोल गर्दै टिमलाई जित
दिलाउनुभयाे । उक्त जितसँगै शितलज्योती क्लबले पनि ३ अंकको योगफल बनाएको छ ।

यसैगरी अर्काे खेलमा सँगमले एपेक्सलाई ६–० गोलको अन्तरले पराजिगत गरेको छ । सँगमको जितमा क्षितिज गुरुङले १० औं र १२ औं मिनेटमा २ गोल गर्नुभयाे । यसैगरी १४ औं मिनेटमा मनोज गुरुङले, २० औं मिनेटमा आयुष थापाले, २८ औं मिनेटमा अनिष गुरुङले र २९ औं मिनेटमा निश्चल जिसीले समान १ गोल गर्नुभएकाे थियाे ।

उक्त खेलबाट सँगम क्लबले ३ अंक जम्मा गरेको छ । रंगशालाको वैकल्पिक मैदानमा ३ खेलसँगै हेम्जास्थित गौरीशंकर खेल मैदानमा समेत ४ खेल सकिएका छन् । उक्त मैदानमा भएको पहिलो खेलमा विष्णुपादुका क्लबले एबिसीलाई ७–१ गोलको फराकिलो अन्तरले पराजिगत गरेको हेम्जा युनाईटेडका सचिव सुनिल गायकले जानकारी दिनुभयाे । उहाँका अनुसार विष्णुपादुकाको जितमा संजोग केसी र सविन नेपालीले समान २ गोलको योगदान दिनुभयाे भने राजन थापा, रोशन थापा र सुजन तामाङले समान १ गोल गर्नुभयाे ।

एबिसीको लागि निखिल रानाले सान्त्वना १ गोल फर्काउनुभयाे । उक्त खेलबाट विजयी बनेको विष्णुपादुकाले ३ अंक बटुलेको छ ।
यसैगरी दोस्रो खेलमा एलजी एशोसियसनले रामघाटलाई ७–० गोल अन्तरले हरायो । एलजीको जितमा शिव सुवेदी र सिद्धार्थ रन्जितले समान २ गोल गर्नुभयाे भने कृष्ण गुरुङ, हेमन्त तामाङ र सन्तोष श्रेष्ठले समान १ गोलको योगदान दिनुभयाे । सो जितसँगै एलजीले ३ अंक जम्मा
गरेको छ ।

तेस्रो खेलमा डेभिजफल क्लबले सहारा क्लबलाई २–१ गोल अन्तरले हरायो । डेभिजफलको जितमा विशाल परियार र सुदिप रानामगरले समान १ गोलको योगदान दिनुभयाे । यता हार व्यहोरेको सहारा क्लबको तर्फबाट नवराज धमेलले सान्त्वना १ गोल फर्काउनुभयाे । उक्त
खेलबाट जितसँगै डेभिजफलले ३ अंक जम्मा गरेको छ ।

अर्काे खेलमा नाकोड्सले नयांगाँउ एफसीलाई ७–२ गोल अन्तरले पराजित गर्याे । नाकोड्सको जितमा विकल बानियाले २ गोलको योगदान दिनुभयाे भने आगमन खड्का, कुनल राई, समिर छन्त्याल, निरन्जन गैरे र अमृत मगरले समान १ गोल गर्नुभयाे । नयांगाउँको तर्फबाट रुविन गुरुङ र वर्मा नेपालीले समान १ गोल फर्काउनुभयाे । उक्त खेलबाट नाकोड्सले ३ अंक बटुल्यो ।

एन्फा कास्कीका अनुसार लिगमा अब कुल ४८ खेल बाँकी रहेकोे छ । लिग विजेताले गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने एन्फा कास्कीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका