दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले स्थानीय तहको चुनावमा एमाले एक्लै लड्ने बताउनुभएकाे छ । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा एमालेले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने बताउनुभएकाे हाे ।
राप्रपा, सिके राउतका दलसँगको तालमेलको सम्भवना के छ भन्ने पत्रकारको जिज्ञाशामा उहाँले एमालेले पार्टीगत तालमेलको पक्षमा नरहेको बताउनुभयाे । उहाँले सत्तारुढ गठबन्धनका दलले एमालेले राजवादी दलसँग तालमेल हुँदेछ भनेर भ्रम फैलाएको आरोप लगाउनुभयाे ।
‘जो एक्लै उठ्ने आट गर्दैन्, उनीहरुले यस किसिमका भ्रम फैलाएका छन्’ उहाँले भन्नुभयाे, ‘एमाले एक्लै उठ्न सक्छ, यसमा कुनै समस्या छैन ।’
उहाँले एमालेले नेताभन्दा पनि विभिन्न दलमा कार्याकर्ताहरुलाई जोड्दै बलियो शक्ति निर्माण गर्दै अगाडी बढ्ने बताउनुभयाे । महासचिव पोख्रेलले अहिलेको पाँच दलीय गठबन्ध बमपन्थी आन्दोलन र लोकतन्त्र मान्यताको विरुद्धमा भएको टिप्पणी समेत गर्नुभयाे । उहाँले कांग्रेससँगको तालमेल जनताले दिएको जनादेशको विपरित भएको बताउनुभयाे ।
त्यस्तै पोख्रेलले प्रचण्ड र माधव नेपालसँग बामएकताको सम्भवना नरहेको तर माओवादी र एकीकृत समाजवादीका कार्याकर्तालाई एकतावद्ध गर्ने पक्षमा भने एमाले रहेको बताउनुभयाे । ‘प्रचण्ड र माधवरहित वामएकताको पक्षमा एमाले छ’ उहाँले भन्नुभयाे, ‘माधव नेपालका कार्याकर्तालाई गोलवद्ध हुँदै ठूलो शक्ति निर्माण गर्न आह्वान पनि गरिरहेका छौं ।’