काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आज (आइतबार) सुनुवाइ गर्ने भनिएकाे थियाे । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि (आज)आइतबार सुनुवाइ नहुने भएको छ ।
एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएकाे थियाे ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताउनुभएकाे छ ।
एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेको रिटमा अन्तरिम आदेश दिएकाले अहिले यो मुद्दा सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।
source:onlinekhabar