नेपालबारे भारतमा केके कुरा भयो ? • Nepal's Trusted Digital Newspaperनेपालबारे भारतमा केके कुरा भयो ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालबारे भारतमा केके कुरा भयो ?

नेपालबारे भारतमा केके कुरा भयो ?

  • समाचारपाटी
  • आइतवार, चैत्र २०, २०७८
नेपालबारे भारतमा केके कुरा भयो ?

भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् । दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह गरिएको जनकारी दिए । देउवाले भने, “हामीले सीमाका सवालहरूमा छलफल ग¥यौँ र मैले मोदीजीलाई त्यसलाई स्थापित दुईपक्षीय संयन्त्रहरूबाट हल गरौँ भनेर अनुरोध गरेँ ।”

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले दिल्लीमा शनिवार भेटवार्ता गरेपछि दुवैजनाले संयुक्त रूपमा प्रेस सम्मेलन गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले सीमाको विवादको बारेमा कुनै धारणा नराखे पनि अवाञ्छित तत्त्वले नेपाल भारत सीमाको दुरुपयोग नगरुन् भन्नेबारे छलफल भएको बताए ।

त्यसका लागि दुवै देशले प्रतिरक्षा र सुरक्षामा गहन सहयोग कायम गर्ने विषयमा जोड दिएको उनले जानकारी दिए ।

देउवाले के भने ?
प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीसँग मित्रवत र सार्थक छलफल भएको उल्लेख गर्दै भारतको आर्थिक रुपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको बताए ।

उनले चाँदनी दोधारामा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको निर्माण र नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण सम्पन्न गर्ने र भैरहवामा त्यस्तो जाँच चौकी निर्माण अघि बढाउने बारेमा छलफल भएको जानकारी दिए । दुवै पक्ष सडक र रेल जस्ता सम्पर्क सञ्जाल सम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको उनको भनाइ छ । नेपालले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरहुँदै हवाई रुट उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिदैँ प्रधानमन्त्री देउवाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि पनि सहयोग गर्न अनुरोध गरिएको जानकारी दिए ।

महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मल निर्यात गर्ने सम्बन्धी केही समय पहिले भएको समझदारीको कार्यान्वयनबारे पनि छलफल भएको उनले जानकारी दिए । अन्तर्देशीय ऊर्जा व्यापार नेपालको प्राथमिकतामा रहेको भन्दै दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने भिजन स्टेटमेन्ट तयार गर्ने भनी भएको सहमतिबाट आफू प्रशन्न भएको देउवाले बताए ।

दुवै प्रधानमन्त्रीको भेटवार्तापछि भारतको रुपे कार्डलाई नेपालमा पनि प्रयोगमा ल्याउने निर्णय गरिएको थियो । नेपालले भारतलाई जीपीकोइराला श्वास प्रश्वास रोग सम्बन्धी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सघाउन अनुरोध गरेको छ ।

प्रधानमन्त्री देउवाले आफूले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिदैँ दुवै देशबीच निरन्तर रुपमा भ्रमणको आदानप्रदान भइरहनुपर्ने बताए । साथै उनले कोरोनाभाइरसको महामारीसँग जुझ्न भारतले नेपाललाई उपलब्ध गराएको सहयोगका लागि धन्यवाद दिए ।

मोदीले के भने ?
देउवालाई भारतको ’पुरानो मित्र’ भनेका मोदीले नेपाली प्रधानमन्त्रीसँग आपसी सहयोगका विभिन्न क्षेत्र, विभिन्न परियोजनामा भएको प्रगति र भविष्यको रुपरेखाका बारेमा पनि छलफल गरेको बताए । मोदीले भने, “हामी दुवै सहमत छौँ कि हामीले ऊर्जा क्षेत्रमा सहयोगको अवसरबाट पूरै लाभ उठाउनुपर्छ ।”

उनले भारतले नेपाललाई सुख दुखको साथीका रूपमा हेरेको भन्दै नेपालप्रति आफ्नो मुलुकले सधैँ आत्मीयता प्रेरित भावना राख्ने बताए । उनले नेपालसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयलाई दुवै देशले उच्च प्राथमिकता दिने समझदारी गरेको भन्दै संयुक्त भिजन स्टेटमेन्ट ल्याउने सहमति भएको बताए । लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम तेज गतिमा अघि बढ्ने भन्दै उनले उक्त परियोजनाले दुई देशको सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए ।

नेपालसँग विद्युत् आयात गर्ने कैयौँ अरू प्रस्तावलाई स्वीकृत गर्न लागिएको उनले जानकारी दिए ।

नेपाली पक्षसँग जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको भागिदारी बढाउने विषयमा पनि छलफल भएको भन्दै मोदीले नेपालले सौर्य ऊर्जासम्बन्धी अलायन्समा जोडिने गरी एउटा सम्झौतामा हस्ताक्षर गरेकोमा प्रसन्नता जनाए ।

दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका अधिकारीहरूले रेलवेका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने, पेट्रोलियम पदार्थको आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल निगमबीचको प्राविधिक सहकार्य अभिवृद्धि गर्ने विषयका सम्झौतामा हस्ताक्षर गरिएका थिए । दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

दुवैजनाले संयुक्त रूपमा अन्तरदेशीय जयनगर–कुर्था रेल सेवा उद्घाटन भर्च्युअल माध्यमबाट गरेका थिए । कार्यक्रममा नेपाल र भारतबीच भएका विकास आयोजनाहरूबारे चर्चा गरिएको थियो ।
त्यससँगै पूर्वधार तयार भएर पनि सञ्चालन नभइ बसेको उक्त रेलले सेवा उपलब्ध गराउन थालेको बताइएको छ ।

पाँचौ पटक प्रधानमन्त्री चुनिएपछि जलवायु परिवर्तन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ग्लास्गो गएको बेला देउवा र मोदीबीच गएको नोभेम्बरमा भेटवार्ता भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका