कोलम्बो । श्रीलङ्कामा सरकारले लागू गरेको कफ्र्यु उलङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई पक्राउ गरेको छ। स्थानीय समय अनुसार शनिबार रातीदेखि आइतबार बिहान ६ बजेसम्म देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो । सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्र्यु आदेश जारी गरेको थियो । कफ्र्यु लागू भएका बेला हिँड्डुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले जानकारी दिनुभएकाे छ।
आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै संकटकालको घोषणा गरेको छ । आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गरेपछि आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि घाइते भएका थिए ।
चरम आर्थिक संकट भोगिरहेको श्रीलंगामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले संकटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन् । सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ ।