मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन, १ घर १ धाराको प्रतिबद्धता पूरा हुँदै • Nepal's Trusted Digital Newspaperमुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन, १ घर १ धाराको प्रतिबद्धता पूरा हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन, १ घर १ धाराको प्रतिबद्धता पूरा हुँदै

मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन, १ घर १ धाराको प्रतिबद्धता पूरा हुँदै

  • समाचारपाटी
  • आइतवार, चैत्र २०, २०७८
मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन, १ घर १ धाराको प्रतिबद्धता पूरा हुँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना शनिबार उद्घाटन गर्नुभएकाे छ । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशभरका नागरिकलाई आधारभूत खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको र त्यसै अनुसार काम गर्दै आएको बताउनुभयाे । स्वच्छ खानेपानी नागरिकका मौलिक अधिकार रहेको भन्दै उहाँले प्रदेश सरकारले थालेको १ घर १ धारा अभियान अब सार्थकतामा पुग्न लागेको बताउनुभयाे ।

kahu water 1

२० औं वर्षसम्म आयोजना अलपत्र भएर नागरिकहरु खानेपानीबाट वञ्चित रहेको अवस्थामा काहुँमा निर्धारित समयमै काम सकिएकोप्रति उहाँले खुसी व्यक्त गर्नुभयाे । अहिले प्रदेशमा मात्र नभएर मुलुकभर लिफ्टङ प्रणालीका खानेपानी आयोजनाले प्राथमिकता पाए पनि विद्युत महसुलका कारण उपभोक्ता मारमा परेको उहाँको भनाइ थियो । प्रदेश सरकारले अहिले नै सबै आयोजनालाई विद्युत महसुल छुट दिन नसके पनि प्राथमिकता तोकेर क्रमश गर्दै जाने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाउनुभएकाे छ ।

kahu water 4

मुख्यमन्त्री पोखरेलले पर्यटकीय सम्भावना बोकेको काहुँडाँडा र आसपासको क्षेत्रमा पर्यटक टिकाइराख्न थप पूर्वाधारको जरुरी रहेको भनाइ राख्नुभयाे । सीमिति स्रोत र साधानका बीच प्रदेश सरकारले जन अपेक्षा र प्रतिबद्धता अनुसार काम गर्दै आएको उहाँको भनाइ थियो । प्रदेश र स्थानीय तहका सरकारलाई संघले कम बजेट दिएकै कारण सोचे अनुसार आयोजनाहरु अगाडि बढाउन नसकिएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु भएको आयोजनाको लागत अनुमान ११ करोड ६७ लाख रहे पनि ७ करोड ८२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । कालीखोलाबाट मोटरले पानी तानेर १÷१ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण गरिएको छ । आयोजना अन्तर्गत प्रतिसेकेन्ड १० लिटर पानी आपूर्ति हुने र ५ हजार ४ सय ३० उपभोक्ता लाभान्वित भएको खानेपानी डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयाे । उहाँका अनुसार सिल्टेसनका साथै निर्मलीकरण गरिएको भएको यसबाट वितरित पानी धाराबाट सिधै खान मिल्ने हुन्छ ।

कार्यक्रममा प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले परिवर्तित राजनीतिक अवस्थासँगै बनेको गठबन्धन सरकारले विकास निर्माणका साथै सामाजिक क्षेत्रमा समेत प्रभावकारी काम गर्दै आएको बताउनुभयाे । आफ्नो निर्वाचन क्षेत्र रहेको रहेकाले काहुँ क्षेत्रको पूर्वाधारका लागि लगातार योजनाहरु परेर कार्यान्वयन समेत हुँदै आएको भनाइ उहाँको थियो ।

संघीय सांसद विद्या भट्टराईले नागरिकको पहिलो आवश्यकता बाटो र दोस्रोमा खानेपानी हुने गरेको भन्दै स्वच्छ पानीमात्र उपलब्ध गराउन सके नागकरिकलाई धेरै रोगबाट मुक्त गराउन सकिने भनाइ राख्नुभयाे । गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ, प्रदेशको ऊर्जा, खानेपानी तथा सिञ्चाइ मन्त्रालयको खानेपानी महाशाखा प्रमुख प्रेम डोटेल, वडाध्यक्ष मोहनप्रसाद बास्तोला लगायतले उक्त अवसरमा शुभकामना व्यक्त गर्नुभयाे ।

स्थानीय विष्णुप्रसाद आचार्य, कुमार क्षेत्रीले पानी लिफ्टिङका लागि धेरै बिजुली खर्च हुने भएकाले महसुलमा सहुलियत प्रदान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

काहुँ धरहरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष दीपकप्रकाश आचार्यले यस परियोजनाको पानीले मात्र पुर्याउन नसकिने भएकाले विगतदेखि नै सञ्चालन हुन्दै आएका ससाना ११ वटा योजना पनि सँगसँगै सञ्चालनमा रहेको बताउनुभयाे ।

kahu water 6

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका