पाेखरा । नेपाल ट्राईयाथलन संघको आयोजनामा पोखरामा भएको एशिया ट्राईयाथलन कपको उपाधी पुरुष तर्फ जापानका जेन्टा युचिदा र महिला तर्फ काजाकिस्तानकी इकातेरिना सावालिनाले उचाल्नुभएकाे छ । ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि. मि. दौडको दुरी जेन्टाले ५३ मिनट १४ सेकेन्ड तथा इकातेरिनाले १ घन्टा ०२ मिनट २० सेकेन्डमा पुरा गर्दै उपाधी उचाल्नुभएकाे हाे । पुरुष तर्फ दोश्रो स्थानमा जापानकै क्योतारो ओसिकावा र तेश्रो स्थानमा अष्ट्रियाका लिओन पगर रहनुभयाे । क्योतारोले उक्त दुरी ५३ मिनट २२ सेकेन्डमा र लिओनले ५३ मिनट ३६ सेकेन्डमा पुरा गर्नुभयाे ।
जपानको टिएनटि टिभि र टिभिएस अपाचेको प्रायोजन रहेको प्रतियोगिताको महिला तर्फ जापानकी हिराकु फुकुओकाले १ घन्टा २ मिनट ५३ सेकेन्डका साथ दोश्रो र काजाकिस्तानकी नादेज्दा बेक्मागनबेताभाले १ घन्टा ४ मिनट १४ सेकेन्डका साथ तेश्रो हुनुभयाे ।
शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यस्तै चौथोले ३१५ डलर र पाँचौले २१० डलर प्राप्त गरे ।
आदर्श र प्रग्न्यालाई दक्षिण एशियाली उपाधी
सोही क्रममा भएको दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसिपको उपाधी भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले प्राप्त गर्नुभयाे । आदर्शले ५९ मिनट १० सेकेन्डमा दुरी पुरा गर्दै उपाधी जित्नुभएकाे हाे । यस्तै पहिलो संस्करणकी बिजेता प्रग्न्याले १ घन्टा ६ मिनट २२ सेकेन्डमा दुरी पुरा गर्दै उपाधी जित्नुभएकाे हाे । उहाँले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गर्नुभएकाे हाे ।
भारतिय खेलाडीहरुको दवदवा रहेको स्पर्धामा राहुल धनजी सिन्धेले ५९ मिनट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनट ४३ सेकेन्डका साथ कास्य पाउनुभयाे । यस्तै महिला तर्फ मानषी मोईतेले १ घन्टा ८ मिनट १८ सेकेन्डका साथ रजत र संजना जोशीले १ घन्टा १० मिनट ८ सेकेन्डका साथ कास्य पाउनुभयाे ।
राष्ट्रियमा बशन्त र सोनीले जिते
राष्ट्रिय तर्फको प्रतिस्पर्धामा सेनाका बशन्त थारु र एपिएफकी सोनी गुरुङ्गले जित स्वर्ण हात पार्नुभयाे । थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा दुरी पुरा गर्नुभयाे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दुरी पुरा गर्नुभयाे । दोश्रो स्थानमा रहनुभएका दिपेश चौधरीले १ घन्टा ५ मिनट ६ सेकेन्ड र तेश्रो स्थानमा रहनुभएका मुकेश थारुले १ घन्टा ७ मिनट ५५ सेकेन्डमा दुरी पुरा गर्नुभयाे । यस्तै महिला तर्फ केशरी थापा मगरले १ घन्टा २१ मिनट २ सेकेन्डका साथ रजत र सस्तिका भण्डारीले १ घन्टा ३२ मिनट ११ सेकेन्डका साथ कास्य पाउनुभयाे । प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ३७ र महिला तर्फ २० गरि ५७ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथक, राखेपका निमित्त सदस्य सचिव कुलबहादुर थापा, सदस्य राजेश गुरुङ्ग, गण्डकी प्रदेश सदस्य सचिव तेज गुरुङ्ग, प्रदेश साँसद एवं संघका उपाध्यक्ष दीपक कोईराला लगायतले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।