विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक मृत भेटिनुभएकाे छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई विराटनगर बस्दै आउनुभएका २७ वर्षीय विजय यादव मृत भेटिनुभएकाे हाे ।
उहाँ नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत हुनुहुन्थ्याे । उहाँ विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा डेरामा बस्दै आउनुभएकाे थियाे ।
डेरा बसेको घरको कम्पाउण्डभित्र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा यादवको शव फेला परेको प्रहरीले बताएको छ । नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यादवको शव देखेपछि स्थानीयले शनिबार बिहान प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका थिए ।
मृतकका आफन्तले हत्या भएको आशंका गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको बताउनुभयाे ।