खेलकुदलाई पर्यटनसँग जोड्न सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री थापा
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । यही चैत ५ गते भएको मञ्चको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचन भएको पदाधिकारीले शुक्रबार पदस्थापन गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मञ्चको नवनिर्वाचित टोलीलाई पदस्थापन गराउदै खेलकुदलाई पर्यटनसंग जोडेर अघि बढाउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयाे ।
गण्डकी प्रदेशले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडी बढाउन सकेको खण्डमा आर्थिक हिसावले धेरै क्रियाकलाप गर्न सकिने उहाँको भनाई थियो ।
कोभिड– १९ को कारण प्रदेशका उद्योग व्यवसाय लगायतका सबै क्षेत्रमा आक्रान्त बनाइरहेको अवस्थामा खेलकुदको माध्यमबाट यो ठाउँको विकास गर्न र आर्थिक क्रियाकलापलाई चलायमान गराउनका लागि महत्वपूर्ण भूमिका पुग्ने मन्त्री थापाले बताउनुभयाे । गण्डकी प्रदेशमा खेलकुदका पूर्वाधारहरु थपिनेक्रम जारी रहेको हुँदा खेलकुदको सम्भवना बढी रहेको बताउँदै मन्त्री थापाले प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले खेलसम्बन्धी पढनपठान शुरु गरिसकेकाले पनि खेलकुदको सम्भावना बढेर गएको उहाँको जिकिर थियो ।
उहाँले भन्नुभयाे, ‘खेलकुदकै माध्यमबाट हाम्रो जीवन स्वस्थ बनाउन सक्छौं, खेलकुदको भविष्य धेरै राम्रो छ, खेलाडीहरुले धेरै गर्न सक्छन्, प्रदेशको, देशकै नाम राख्न सक्ने अवस्था सृर्जना भएको छ ।’ गण्डकी प्रदेश सरकारले खेलकुदका क्षेत्रमा यथेस्ट लगानी गरिरहेको उल्लेख गर्दै खेलकुदको क्षेत्रमा राम्रो बजेटको व्यवस्थापन गरेको दावी गर्नुभयाे ।
प्रदेश सरकार अहिले नयाँ बजेट क्रममा रहेको भन्दै अगिल्लो आर्थिक वर्षमा कोभिडका कारण समग्र पत्रकारहरुको लागि पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको भन्दै उहाँले यसपटक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु प्रदेश सरकारको तर्फबाट समेटेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयाे । अध्यक्ष बरालले व्यक्त गरेका प्रतिवद्धता पुरा गर्न आफुले समेत सहयोग गर्ने मन्त्री थापाले जनाउनुभयाे ।
कार्यक्रममा प्रदेशका यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले ओझेलमा परेका खेलहरुलाई खेल पत्रकारहरुले अघि ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे । प्रदेशको खेलकुदको विकासको लागि प्रदेश स्तरिय प्रतियोगिता आवश्यक भएको उहाँले बताउनुभयाे ।
यस्तै गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज गुरुङले परिषदसंगको सहकार्यमा गण्डकी प्रदेशमा खेलकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको चरणमा रहेको हुनाले यसमा आवश्यक सुझाव दिनका लागि आग्रह गर्नुभयाे । खेलकुदको विकासको लागि न्यूनतम ३ देखि ५ प्रतिशत बजेट विनियोजन हुनु पर्ने उहाँको भनाई थियो ।
यस्तै मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञावलीले खेलकुद विटमा कलम चलाउने सबै पत्रकारहरुलाई समेटेर अगाडी बढ्न आग्रह गर्नुभयाे । साझा संस्थामा राजनीति नगर्न उहाँको सुझाव थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले यस क्षेत्रमा खेलकुद पूर्वाधार निर्माणमा पत्रकारको थप चासो जानुपर्ने जनाउनुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव तथा निर्वाचन समितिका सदस्य गोविन्द प्रसाद सुबेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष केशव पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्र शेरचन, सहारा क्लव पोखराका बरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले बोल्नुभएकाे थियाे ।
यसअघि कार्यक्रममा मञ्चको गत चैत ५ गते सम्पन्न तेश्रो साधरण सभा तथा दोश्रो साधरणसभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन कमिटीका संयोजक नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एवम् अधिवक्ता सरिता तिमिल्सिना पंगेनीले पदस्थापन गराउनुभएकाे थियाे ।
अधिवेशनबाट दिननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशी कुमार पौडेल, कोषाध्यक्षमा कविता घर्तिमगर, सदस्यहरुमा दिपक मुल्मी, नारायण शाही, उमेश पुन, राजु गिरी र एमबी आस्था मगर (मानबहादुर) निर्वाचित भएका थिए । अध्यक्ष बरालले पोखरा स्पोट्र्स अवार्ड यसै बर्ष गर्ने, पत्रकारको लागि अक्षयकोष स्थापना गर्ने, तालिम आयोजना गर्ने, छिट्टै नयाँ सदस्यता खुलाउने र सवैको सहकार्य र समन्वयमा अघि बढ्ने बताउनुभयाे । बरालको अध्यक्षतामा बसेको पहिलो बैठकले निर्वाचन कमिटि सहितको निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने प्रति धन्यवाद ज्ञापन गर्दै निर्वमान अध्यक्ष एकराज गिरी र बरालका निकटतम प्रतिद्धोन्दी रञ्जन अधिकारीलाई सल्लाहाकारमा चयन गर्ने निर्णय गरेको छ ।