मनाेरन्ञनमा याे साता:- ‘हेल्लो जिन्दगी’ , हलिउड फिल्म ‘मर्बियस’ र नाटक ‘पल्पसा क्याफे’को मञ्चन सम्म • Nepal's Trusted Digital Newspaperमनाेरन्ञनमा याे साता:- ‘हेल्लो जिन्दगी’ , हलिउड फिल्म ‘मर्बियस’ र नाटक ‘पल्पसा क्याफे’को मञ्चन सम्म • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मनाेरन्ञनमा याे साता:- ‘हेल्लो जिन्दगी’ , हलिउड फिल्म ‘मर्बियस’ र नाटक ‘पल्पसा क्याफे’को मञ्चन सम्म

मनाेरन्ञनमा याे साता:- ‘हेल्लो जिन्दगी’ , हलिउड फिल्म ‘मर्बियस’ र नाटक ‘पल्पसा क्याफे’को मञ्चन सम्म

  • समाचारपाटी
  • शुक्रबार, चैत्र १८, २०७८
मनाेरन्ञनमा याे साता:- ‘हेल्लो जिन्दगी’ , हलिउड फिल्म ‘मर्बियस’ र नाटक ‘पल्पसा क्याफे’को मञ्चन सम्म

काठमाडौं । दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’को दबदबा कायमै रहँदा शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ र जेरर्ड लेटो स्टारर हलिउड फिल्म ‘मर्बियस’ हलमा लागेका छन् ।

प्रियंका कार्की, दीपिका प्रसाईं र विक्रम जोशी अभिनित ‘हेल्लो जिन्दगी’ले लण्डनस्थित नेपाली डायस्पोरामा भएको एक आपराधिक घटनाको चित्रण गर्छ । यसलाई ‘मर्डर मिस्ट्री ड्रामा’ भनिएको छ ।

२ घण्टा १३ मिनेट लामो फिल्मलाई एभरेस्ट सूर्य बोहराले निर्देशन गर्नुभएकाे हाे । मिहिनेती र करिअरमा सफल विजय नामक पात्रले चोखो प्रेम प्राप्तिका लागि गरेको संघर्ष र उसको जीवनमा आउने संकटलाई फिल्ममा चित्रण गरिएको छ ।

मार्भल कमिक्सको सुपरहिरोमा आधारित ‘मर्बियस’लाई डेनियल एस्पिनोसाले निर्देशन गर्नुभएकाे हाे । लेटोसहित म्याट स्मिथ, एड्रिआ एरजोना, जेरर्ड ह्यारिसको फिल्ममा मुख्य भूमिका छ । सोनीको स्पाइडरम्यान युनिभर्सको यो तेस्रो फिल्म हो ।

जीव रसायन वैज्ञानिक माइकल मर्बियस आफूलाई रगतमा हुने एक दुर्लभ रोगबाट जोगाउन खोज्छन् । जब यससम्बन्धी उनको प्रयोगमा गल्ती हुन्छ, तब भ्याम्पायर (रगत चुस्ने) चरित्रमा परिणत हुन्छ । अनि सुरु हुन्छ द्वन्द्वको सिलसिला ।

साइन्स फिक्सन र सुपरहिरो फिल्ममा रुचि राख्ने मार्भल र सोनी फिल्मका दर्शकलाई ‘मर्बियस’ रुचिकर लाग्न सक्छ । अन्तर्राष्ट्रिय बजारमा चाहिं फिल्मले समीक्षकबाट औसत समीक्षा प्राप्त गरेको छ । नेपालका हलमा ‘आरआरआर’सहित बलिउडको ‘द कश्मीर फाइल्स’ पनि प्रदर्शन भइरहेको छ ।

hello2

palpasa

कोरोना महामारीले अघिल्लो वर्ष रोकिएको नाटक ‘पल्पसा क्याफे’को मञ्चन आगामी वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त सोही नामको उपन्यासमा आधारित रहेको नाटकलाई थिएटर भिलेजले मञ्चन गर्न लागेको हो । थिएटर भिलेज थापागाउँस्थित मण्डला थिएटरमा वैशाख महिनाभर नाटक प्रदर्शन हुनेछ ।

सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशन रहने उक्त नाटकको मञ्चनमा ढिलाइ भएसँगै कलाकारमा पनि हेरफेर भएको छ ।

अघिल्लो वर्ष पल्पसाको मुख्य चरित्रमा स्वस्तिमा खड्काले अभिनय गर्ने भनिएपनि उहाँले छाडेपछि सृष्टि श्रेष्ठले उक्त चरित्रमा अभिनय गर्ने हुनुभएकाे छ ।

दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैंले गर्ने हुनुभएकाे छ । अर्को मुख्य पात्र सिद्धार्थको भूमिका दीपेश राईले निर्वाह गर्नुहुनेछ  । पटक–पटक नाटक सर्दा कलाकारलाई जुटाउन समस्या भएको कास्टिङ निर्देशक समेत रहनुभएका रानाभाटले जनाउनुभयाे ।

पारिजातद्वारा लिखित ‘पल्पसा क्याफे’ नेपालको चर्चित उपन्यासमध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रान्सेली, कोरियाली तथा सिंहला भाषामा समेत अनूदित छ । एक दशक लामो सशस्त्र द्वन्द्व वरपर रहेर एक पेन्टरको कथा प्रस्तुत गर्ने पुस्तकले तत्कालीन परिवर्तनशील समाजको कथालाई सरलीकरण गरेर चर्चा बटुलेको थियो ।

सशस्त्र युद्धमा सहभागी भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले देखेको युद्धको परिवेशलाई उपन्यासले पेस गर्छ । निर्देशक सुवेदीले १५ वर्षपछि उपन्यासतिर फर्किंदै त्यसबेला उठाएका विषयलाई वर्तमान समयमा विवेचना गर्न लागेको जानकारी दिनुभयाे ।

भर्खरै प्रदर्शन भएको फिल्म ‘चिसो एस्ट्रे’मा अभिनय गर्नुभएकी सृष्टिले यसअघि थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गर्नुभएकाे छ। सान्दाजुको महाभारत, यार्मा, ह्याम्लेट, मालिनीजस्ता फरक डिजाइनका नाटक निर्देशनमार्फत आफूलाई चिनाउनुभएकाे विमल सुवेदी एक दशकपछि पुनः अभिनयमा फर्किंदै हुनुहुन्छ ।

नाटकमा सृष्टि र विमलसहित दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांश, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारको अभिनय रहेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका