आज घोडे जात्रा दिवस, घोडे जात्रा किन मनाइन्छ ? यस्ताे छ कारण ! • Nepal's Trusted Digital Newspaperआज घोडे जात्रा दिवस, घोडे जात्रा किन मनाइन्छ ? यस्ताे छ कारण ! • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज घोडे जात्रा दिवस, घोडे जात्रा किन मनाइन्छ ? यस्ताे छ कारण !

आज घोडे जात्रा दिवस, घोडे जात्रा किन मनाइन्छ ? यस्ताे छ कारण !

  • समाचारपाटी
  • शुक्रबार, चैत्र १८, २०७८
आज घोडे जात्रा दिवस,  घोडे जात्रा किन मनाइन्छ  ? यस्ताे छ कारण !

यस वर्ष त विश्व मूर्ख दिवस र घोडे जात्रा एकै दिन परेको छ । घोडा, घोडचढी, घोडसवार, यात्रा तथा युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा अनि मानवबिचको सहकार्यलाई इतिहासका विभिन्न दस्ताबेजहरूमा निरन्तर व्याख्या गरिएकै छ अझ यो सम्बन्धबारे विभिन्न कथा-किस्साहरू जीवितै छन् । युरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा मात्र एउटा भरपर्दो र छिटो सवारीको माध्यम थियो । विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरु सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो ।

अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्तै महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ नै ‘अश्व मेघ यज्ञ’ हो, जसमा सयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरू जहाँ-जहाँ सम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्द्यता र आनन्द रहने विश्वास गरिन्छ ।

आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुदेका यी अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाहरूको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाण्डौमा घोडे जात्रा मनाइँदै छ । चाहे काठमाण्डौको विभिन्न ठाउँमा रहेको राणाहरुको अनि अन्य विभिन्न योद्धाहरूको सम्झना सालिक या तस्बिर होस्, घोडाहरूको उपस्थिति जरुरी हुन्छ । नेपोलियन देखि कुब्लाई खाँ सम्म अनि जङ्ग बहादुर देखि मोहन शमशेरसम्मका प्रतिमा, मूर्ति या तस्बिरहरूमा घोडाको उपस्थितिलाई सानका साथ हेरिन्छ । काठमाण्डौको अत्यन्त मौलिक जात्राका रूपमा घोडे जात्रा युगौँ यूतान्तरदेखि काठमाण्डौको टुँडिखेलमा अविच्छिन्न अनि निरन्तर रूपमा प्रदर्शन गरिँदै आएको छ ।

घोडे जात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रुपमा प्राचीन काल देखिनै काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यस दिन काठमाडौँको टुँडिखेलमा हज्जारौं सर्वसाधारणका बिच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्दछन् । घोडे जात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्दछन् । यसरी जनाउ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ । यसरी यस दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्दछ । त्यसका अलावा सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्ने गर्दछ ।

यस जात्राको प्रथम दिन लुकुमहादेवको पूजा अर्चना गर्दै बलि चढाउने चलन छ, असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक आपसमा ठोक्काउँदै दुई दिदिवहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई सहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोस्रो दिन घोडे जात्रा हो, घोडे जात्रा विवाहित छोरी र दिदिवहिनीहरुलाई माइतमा वोलाउने र भोज खुवाउने पनि चलन छ ।

काठमाडौँ वासीहरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडे जात्रा मनाउन पछाडिको एउटा कारण हो । कथा यसरी सुरु हुन्छ, परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती रहेको छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कोतर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता रहेको छ । त्यही आधारमा अघिल्लो दिन चैत्र कृष्ण औँसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका