प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व(दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।
पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने जनविश्वास छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको पनि छ। यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चऱ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो ,यस पर्वको नाम पाहाँ चऱ्हे हो ।
यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो ।
यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ।
कुनै दिन काठमाडौँ बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।