किशाेर बुढाथाेकी विराटनगर । मोरङको लेटाङमा महिला प्रहरीको हत्या गरिएको घटनामा संलग्नमध्ये हालसम्म २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको छ।
हत्या आरोपिविरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको हो। शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको घटनाले उग्ररुप लिदाँ गत चैत ६ गते भड्किएको हिसाँमा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो।
कर्तव्य ज्यान मुद्दामा अहिलेसम्म १ जना महिलासहित २० जनामाथि अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभएकाे छ। उहाँका अनुसार हत्या आरोपमा सुरुमा ९ जना र पछि ११ जना पक्राउ परेका हुन्।
लेटाङ घटनालाई लिएर हालसम्म ४९ जना पक्राउ परिसकेका छन्। पक्राउ परेकामध्ये २९ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताउनुभएकाे छ।
हत्या आरोपमा पक्राउ पर्नेमा लेटाङ नगरपालिका–५ की १८ वर्षीया निशा पुलामी मगर, ४८ वर्षीय चन्द्र तामाङ भनिने भन्द्रकान्त लामा, २५ वर्षीय रविन राई, २३ वर्षीय प्रदीप राई, २० वर्षीय रविन तामाङ, सञ्जीव प्रधान, प्रनिस कट्टेल, झविन भनिने जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ, १९ वर्षीय सञ्जय मगर र १८ वर्षीय सुरज अधिकारी रहेका छन्।
त्यस्तै लेटाङ–६ का १८ वर्षीय सन्तोष पौडेल, राम राई, बलराम भनिने पालाराम राई, २० वर्षीय हिमाल श्रेष्ठ, श्रवण यादव र मोरङकै मिक्लाजुङ गाउँपालिका-२ घर भइ लेटाङ–५ मा बस्दै आएका २० वर्षीय कृष्ण विकविरुद्ध पनि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले घटनाको अनुसन्धान अझै जारी रहेका कारण पक्राउ पर्नेको संख्या बढ्न सक्ने बताउनुभएकाे छ। ‘हत्यामा ठूलो भीड संलग्न थियो। घटनामा अरु पनि संलग्न हुन सक्छन्। अनुसन्धान जारी छ। यकिन भए जतिलाई नियन्त्रणमा लिएर मुद्दाको प्रक्रिया अघि बढाउँछौं,’ उहाँले भन्नुभयाे। प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै घटनाका सम्भावित आरोपीहरुमाथि सोधपुछ गर्ने क्रम जारी राखेको छ।
मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङसहितका प्रहरी अधिकारीले घटनाको अनुसन्धान गरिरहनुभएकाे छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङलगायतको संयुक्त टोली परिचालित छ। घटनालाई निस्कर्षमा पुर्याउन खटाइएका ठूलो संख्याका प्रहरीले विभिन्न ठाउँमा खोज अभियान जारी राखेका छन्। हत्यामा संलग्न अरु व्यक्ति जंगलमा लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ।
घटनाको छानबिन गर्न प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति बनाएकाे छ। जसमा १ जना डीएसपी, १ जना इन्सपेक्टर र २ जना असइ रहेको समितिले छानबिन सकेर प्रदेश प्रहरी कार्यालयलाई प्रतिवेदन बुझाउने छ।
लेटाङ–५ मा रहेको शिक्षा विकास मध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले चैत ४ गते कक्षा ७ मा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको घटना बाहिरिएपछि चैत ६ गते लेटाङमा हिंसा भड्किएको थियो।