बुटवल । विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार रुपन्देही जाँदै हुनुहुन्छ ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीका अनुसार अध्यक्ष ओलीले भैरहवामा पार्टी प्रवेश गराउने र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
भैरहवाको कार्यक्रम सकेर अध्यक्ष केपी शर्मा ओली दिउँसो कपिलवस्तुको तौलिहवा जानुहुनेछ । तौलिहवामा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराउने कार्यक्रम रहेकाे छ ।
यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित प्रदेश सांसद धर्म बहादुरलाल श्रीवास्तव पनि एमालेमा प्रवेश गर्ने अध्यक्ष गिरीले बताउनुभएकाे छ । अध्यक्ष ओली सोमबार साँझ बुटवलमा बास बस्ने र मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै मंगलबार दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको समेत गिरीले जानकारी गराउनुभयाे । लुम्बिनीमा जसपाबाट निर्वाचित तीनजना वडाध्यक्ष, एक दर्जन वडासदस्य एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयाे ।