रुस र युक्रेनको युद्ध सेलाउँदैछ ? • Nepal's Trusted Digital Newspaperरुस र युक्रेनको युद्ध सेलाउँदैछ ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुस र युक्रेनको युद्ध सेलाउँदैछ ?

रुस र युक्रेनको युद्ध सेलाउँदैछ ?

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
रुस र युक्रेनको युद्ध सेलाउँदैछ ?

 

एक महिनाअघि युक्रेनमा आक्रमण गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै अब पूर्वी क्षेत्रलाई “मुक्त” बनाउन केन्द्रित हुने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ ।

रुसको आक्रमण युक्रेनका केही सहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको छ । तर युक्रेनको बलियो प्रतिवादका कारण रुस अघि बढ्न सकिरहेको छैन । “हाम्रो कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको छ,“ रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोईले भने ।

“युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न केन्द्रित हुन सहयोग पुग्छ। त्यो भनेको डोन्बासलाई मुक्त गर्नु हो ।” उनका अनुसार अब रुसी सैनिकहरूले डोन्बासको पूर्ण मुक्तिका लागि ध्यान केन्द्रित गर्नेछन् । पूर्वी युक्रेनको डोन्बास रुसले समर्थन गरेका पृथक्तावादीहरूको बाहुल्य रहेको क्षेत्र हो । रुसी सेनाले किएभमा पनि बमबारी जारी राख्दै राजधानी सहरलाई घेराबन्दी गरिरहेका छन् । रुसी सैन्य अधिकारी रुद्स्कोईले युक्रेनी सेनालाई अन्यत्र अल्झाएर रुस पूर्वमा केन्द्रित भइरहेको बताए ।

रुस असफल भएको दाबी
पश्चिमा अधिकारीहरूले रुसको यो घोषणा मस्कोको रणनीति असफल भएको सङ्केत भएको दाबी गरेका छन् ।

रुस र युक्रेनबीच जारी युद्धका बेला युरोप भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडन भ्रमण बिट मार्ने क्रममा युक्रेनको छिमेकी देश पोल्यान्डमा छन् । युक्रेनमा रुसी आक्रमणको उद्देश्य अझै स्पष्ट नभए पनि रुसी राष्ट्रपति पुटिनले युक्रेनको निरस्त्रीकरणमा जोड दिँदै आएका छन् । उनले युक्रेनमा रुसीभाषीको नरसंहार भएको दाबी गर्दै त्यहाँको सरकारलाई नवनाजी भएको आरोप लगाएका छन् ।

उनको दाबीको कुनै आधार खुलेको छैन भने युक्रेन र पश्चिमा देशहरूले रुसको आरोप युद्धका लागि वाहना मात्रै भएको जिकिर गरेका छन् , पोल एडम्सका अनुसार पूर्वी युक्रेनमा केन्द्रित हुने रुसी घोषणाका आधारमा मस्कोले किएभमा नियन्त्रणमा लिने उद्देश्य छोडिसकेको निष्कर्ष निकाल्नु हतार हुन्छ । तर पश्चिमा अधिकारीहरूले रुसले एकपछि अर्को असफलता बेहोर्नुपरेको छ ।

पोलका अनुसार पश्चिमा अधिकारीहरूले रुद्स्कोईको घोषणालाई मस्कोको युद्धपूर्वको महत्त्वाङ्क्षी रणनीति असफल भएको बुझेका छन् । धेरै मोर्चामा एकैपटक सैन्य अभियान सञ्चालन गर्न नसकिने रुसले बुझ्न थालेको एक अधिकारीले बताए ।

रुसी सेनालाई ’शक्तिशाली धक्का’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमणकारी रुसी सेनालाई “शक्तिशाली धक्का“ दिएको दाबी गरेका छन् ।

“हाम्रा वीर सशस्त्र सैनिकहरूले शत्रुलाई शक्तिशाली धक्का दिएका छन् । उनीहरूतर्फ उल्लेख्य क्षति भएको छ, “रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्स्कीले भने ।

उनले युक्रेनमा आक्रमण सुरु भएयता १६,००० रुसी सेनाले ज्यान गुमाएको दाबी गरे पनि रुसले आफ्ना १,३५१ सैनिकको मृत्यु भएको बताएको छ । “म हाम्रा रक्षकहरूप्रति आभारी छु जसले आक्रमणकारीलाई आँधी नआए पनि समुद्र शान्त हुँदैन भन्ने देखाएका छन्,“ जेलेन्स्कीले भने । “रुसी कदमसँग प्रतिरोध गरेर हाम्रा रक्षकहरूले रुसी नेतृत्वलाई वार्ता जरुरी छ भन्ने सन्देश दिएका छन् ।”

उनले मारिऊपोलमा दशौँ हजार मानिसहरू खाना, पानी र न्यानोको अभावमा फसेको भन्दै उनीहरूको अवस्था भने खराब हुँदै गएको उल्लेख गरेका छन् । “त्यो सहरको अवस्था दुःखद छ साँच्चिकै दुःखद । रुसी सेनाले त्यहाँ कुनै पनि मानवीय सहायता लैजान दिएको छैन,“ जेलेन्स्कीले भने ।
मारिऊपोलमा रुसी आक्रमणमा परेको एउटा नाटकघरमा झन्डै ३०० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले बताएका छन् । रुसले आक्रमण गर्दा उक्त भवनमा सयौँ मानिसहरूले आश्रय लिइरहेका थिए । तर रुसले त्यहाँ आफूले आक्रमण नगरेको दाबी गरेको छ । युद्ध जारी भएकै बेला राजधानी किएभमा कफीघरहरू फेरि खुल्न थालेका छन् । युवाहरू कफीघरमा भेला भएर गफगाफ गर्न थालेका छन् ।

“उनीहरूले रुसका रक्षामन्त्री कतै हराइरहेको भनेका छन्,“ पछिल्लो केही साता रुसी रक्षामन्त्री सार्वजनिक बैठकहरूमा नदेखिएकोतर्फ सङ्केत गर्दै जेलेन्स्की भने ।

रुसी रक्षामन्त्री सर्गेई शोइगूलाई हृदयाघात भएको दाबी
युक्रेनको आन्तरिक मन्त्रालयका एक सल्लाहकारले रुसी रक्षामन्त्री सर्गेई शोइगूलाई हृदयाघात भएको दाबी गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरेयता ११ मार्चमा सार्वजनिक बैठकमा देखिएका रक्षामन्त्री शोइगू लामो समयपछि बिहीवार राष्ट्रपति पुटिनले मन्त्रीहरूसँग आयोजना गरेको बैठकको भिडिओमा केही सेकेन्ड देखा परेका थिए ।

आन्तोन जेरास्चेन्कोले आफ्नो फेसबुकमा “युक्रेन आक्रमणमा असफल भएको पुटिनको आरोपपछि उत्पन्न तनावका कारण रक्षामन्त्री शोइगूलाई हृदयाघात भएको“ र अहिले उनी अस्पतालमा भर्ना भएको दाबी बी गरेका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका अधिकारीहरूले देशबाहिर गरिरहेको कामबारे “मिथ्या समाचार“ फैलाउने व्यक्तिलाई १५ वर्षसम्म जेल सजाय गर्न सक्ने कानुन बनाएका छन् । उनले युक्रेनमा आक्रमण सुरु भएलगत्तै पनि रुसी सेनाबारे झुटा समाचार प्रकाशन रोक्न यस्तै कानुन जारी गरेका थिए ।

स्वास्थ्यसेवामा ७० वटा आक्रमणः विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठनले युक्रेनमा अस्पताल, एम्बुलेन्स र चिकित्सकहरूमाथि दिनहुँजसो आक्रमण भइरहेको र हालसम्म ७० वटा भिन्दाभिन्दै आक्रमण भएको जनाएको छ । उसले स्वास्थ्यसंस्थालाई निसाना बनाउने रुसी रणनीति देखिएको उल्लेख गरेको छ ।

गत मार्च ८ मा दक्षिण खार्किभमा एउटा भर्खरै पुनर्निर्माण भएको अस्पतालमा आक्रमण भएको थियो। युक्रेनी अधिकारीहरूले अस्पतालमा रुसी सेनाले बमबारी गरेको दाबी गरेका छन् । त्यहाँका नगरप्रमुखले सामाजिक सञ्जालमा राखेका तस्बिर र दृश्यमा अस्पतालको मुख्य भवनमा व्यापक क्षति भएको र गत वर्ष मात्रै बनेको नयाँ सोधपुछकक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ । सामाजिक सञ्जालमा उपलब्ध भिडिओको आधिकारिताका बीबीसी र अन्य सञ्चारमाध्यमले पुष्टि गरेका छन्। तर कुन अवस्थामा आक्रमण भएको थियो भन्ने खुलेको छैन ।

“पहिलो आक्रमणले अस्पतालका झ्यालहरू, दोस्रो आक्रमणमा अस्पतालको शल्यक्रियाकक्षहरू ध्वस्त भए,“ उपनगरप्रमुख भोलोदिमिर मात्सोकिनले सँग भने । आक्रमणको दिन अस्पतालका कर्मचारीहरूले गर्भवती महिला, बालबालिकासहित युद्धमा घाइते भएका नागरिक र सैनिकहरूको उपचार गरिरहेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । तर भूमिगत तलामा बसिरहेका कारण आक्रमणमा कसैको पनि मृत्यु नभएको बताइएको छ । रुसले आफूले नियोजित रूपमा सर्वसाधारणलाई लक्ष्य गरेर आक्रमण नगरेको दाबी गर्दै आएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका